काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, चुनौती, रहस्य र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरले समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको कथा प्रस्तुत गरेको छ।
नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’ पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो नेपाली वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।
दुई वर्षको अनुसन्धान, छायांकन र निर्माण प्रक्रियापछि तयार भएको वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।
वृत्तचित्रमा ५० वर्ष पार गरेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउने गुरुङको यात्रा केवल आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र मानवीय इच्छाशक्तिको कथा बनेको निर्माण पक्षले जनाएको छ।
निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको भव्यतासँगै आरोहणका जोखिम, शेर्पा समुदायको योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत प्रस्तुत गरेको छ।
‘रोड टु एभरेस्ट’मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा पनि देखिनेछन्। फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा आरोहण गर्नुका साथै विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गरिसकेका छन्। विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि यात्राका सहयात्री पात्रका रूपमा देखिनेछन्।
सामाजिक संस्था ‘वि विल राइज फाउण्डेसन’ ले निर्माण गरेको ५० मिनेट लामो वृत्तचित्रको नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा हुने जनाइएको छ। त्यसपछि भदौ २८ गते हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर गर्ने तयारी छ।
नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, मञ्च तथा सिनेमा हलमा समेत वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।
सगरमाथाको कथामार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गर्नुका साथै हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउनु वृत्तचित्रको प्रमुख उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ।
