काठमाडौं। चीन र भारतलाई जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत निर्माण भइरहेको आयोजनामा आर्थिक वर्ष २०७३/७४ देखि २०८२/८३ सम्म ८ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ।
आयोजनाको सुरुआती लागत अनुमान १० अर्ब ५६ करोड रुपैयाँ रहेकामा पछिल्लो संशोधनपछि १५ अर्ब रुपैयाँ पुगेको छ। संशोधित लागतका आधारमा वित्तीय प्रगति ६० प्रतिशत पुगेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए। आयोजनाको सम्पन्न अवधि पनि संशोधन गरी आर्थिक वर्ष २०८८/८९ सम्म पुर्याइएको छ।
पर्वतको मालढुंगादेखि नेपाल–चीन सीमा कोरला नाकासम्मको २०२ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गर्ने लक्ष्य छ। गत असारसम्म करिब ९० किलोमिटर सडक कालोपत्र भइसकेको आयोजनाले जनाएको छ।
मुस्ताङको छुसाङ–घमी करिब ५० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्न २ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का आह्वान भइसकेको छ। चालु आर्थिक वर्षमा म्याग्दीको सिरुबारीमा पहिरो प्रभावित करिब ५०० मिटर सडक कालोपत्रका लागि पनि ठेक्का खोलिने तयारी छ।
आयोजनाअन्तर्गत मालढुंगादेखि कोरला नाकासम्म २६ वटा पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा १८ वटा सम्पन्न र चार वटा निर्माणाधीन छन्। बाँकी चार पुलका लागि बजेट व्यवस्थापन हुन बाँकी छ।
कोरला सडकलाई चीनतर्फको उत्तरी नाका र भारततर्फको दक्षिणी पहुँच जोड्ने रणनीतिक व्यापारिक मार्गका रूपमा हेरिएको छ। सडक पूर्ण भएपछि नेपाल–चीन व्यापार तथा उत्तर–दक्षिण यातायात कनेक्टिभिटी थप सहज हुने अपेक्षा गरिएको छ।
