काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८२/८३ मा गुणस्तरहीन तथा दूषित खाद्य पदार्थ उत्पादन र बिक्रीवितरण गर्ने १४२ खाद्य तथा दाना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न वर्षभरि १२ हजार ८०६ पटक खाद्य व्यवसायी फर्मको निरीक्षण गरिएको थियो। कैफियत भेटिएका व्यवसायीविरुद्ध जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका निर्देशक एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले जानकारी दिइन्।
दायर १४२ मुद्दामध्ये ७३ वटा न्यून गुणस्तर, ३२ वटा दूषित खाद्य पदार्थ, १२ वटा ऐन तथा नियम उल्लङ्घन र २५ वटा लेबलविना खाद्य पदार्थ बिक्रीवितरणसम्बन्धी छन्।
खाद्यान्न तथा दलहनमा सबैभन्दा बढी ३२ मुद्दा दायर भएका छन्। त्यसपछि तेल तथा घिउजन्य पदार्थमा २७, गुलियो पदार्थमा २१, कन्फेक्सनरीमा १९, फल तथा सागपातजन्य पदार्थमा १८, प्रशोधित पिउने पानीमा १२ र दूध तथा दुग्ध पदार्थमा १२ मुद्दा छन्।
विभागले अनुगमनका क्रममा तीन हजार ३६५ खाद्य नमुना संकलन गरेको थियो। तीमध्ये दुई हजार ९४८ नमुना परीक्षण गर्दा १२७ वटा मापदण्डविपरीत पाइएको छ। प्रतिकूल नमुनामा खाद्यान्न तथा दलहनका ४७, प्रशोधित पानीका २१, दूध तथा दुग्ध पदार्थका १७, फल तथा सागपातजन्य पदार्थका १० र तेल तथा घिउजन्य पदार्थका नौ नमुना छन्।
यसै अवधिमा म्याद गुज्रिएका तथा मापदण्ड नपुगेका ८६ लाख ३१ हजार ६०१ रुपैयाँ बराबरका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको विभागले जनाएको छ।
निर्यात प्रवर्धनतर्फ विभागले १२६ वटा स्वास्थ्य प्रमाणपत्र जारी गरेको छ। अमेरिका, जापान, भारत, चीन र जर्मनीलगायत मुलुकमा नेपाली खाद्य पदार्थ निर्यात भएको छ। भारतको खाद्य नियामक निकायले नेपालका जुस, जाम, जेली, अचार, क्यान्डी, अदुवा, ताजा फलफूल तथा तरकारी र तयारी चाउचाउ गरी आठ प्रकारका खाद्य पदार्थको प्रयोगशाला प्रतिवेदनलाई मान्यता दिएको छ।
यसैगरी तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षणका लागि ७४ हजार ९४ नमुना द्रुत परीक्षण गर्दा २९ वटा प्रतिकूल पाइएको विभागले जनाएको छ।
