सल्यान। लामो खडेरीका कारण धान रोप्न नपाएर चिन्तित बनेका सल्यान पश्चिमका किसानलाई पछिल्लो वर्षाले राहत दिएको छ।
मध्य बर्खासम्म पनि सुक्खा रहेका खोलानाला तथा खेतमा पानी आएपछि किसानले पुरानो भइसकेको धानको बेर्नासमेत खेतमा रोप्न थालेका छन्।
वनगाढ कुपिन्डे नगरपालिकाको कृषि विकास शाखाका अनुसार सोमबार र मंगलबार परेको वर्षाले रोपाइँका लागि सहज अवस्था बनेको हो। सल्लीबजार आसपासका नारा, माल्टुरा, सिगरेखाना, ओदाला, ओदालतारा र टाबुक क्षेत्रमा अहिले रोपाइँ भइरहेको छ।
कृषि विकास शाखा प्रमुख कृषि अधिकृत नारायणप्रसाद बेल्वासेका अनुसार नगरपालिकाको धान खेती हुने क्षेत्रमध्ये करिब ९० प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भइसकेको छ। कालागाउँ, टाट्के र भलाखर्क आसपासका उकालो तथा ढिलो पानी पुग्ने क्षेत्रमा भने अझै केही रोपाइँ बाँकी छ।
भेरी नदी आसपासका किसानले पानी नपर्दा मोटरमार्फत पानी तानेरसमेत खेतमा सिँचाइ गरेका थिए। वर्षा भएपछि भने अन्य क्षेत्रमा पनि रोपाइँ अघि बढेको हो।
किसानले असार १६ गतेतिर धानको ब्याड राखेका थिए। लामो समय पानी नपर्दा ब्याडमै बेर्ना सुक्न थालेपछि किसान निराश बनेका थिए। अहिले पानी परेपछि करिब डेढ महिनाका भइसकेका बेर्ना खेतमा सारिएको छ।
कृषि अधिकृत बेल्वासेका अनुसार सामान्यतया २० देखि २५ दिनको बेर्ना रोप्न उपयुक्त हुन्छ। ३० दिनभन्दा बढी उमेरको बेर्ना रोप्दा गाँजिने क्षमता घट्ने र उत्पादनमा असर पर्ने भएकाले यस वर्ष उत्पादनमा केही कमी आउन सक्ने उनले बताए।
यसअघि खडेरी बढेपछि कर्णाली प्रदेश सरकारले गठन गरेको कार्यदलले सुर्खेतको सिम्ता र सल्यानको वनगाढ कुपिन्डेका सुक्खाग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको थियो। अनुगमनपछि दीर्घकालीन तथा अल्पकालीन समाधानका लागि बाली विविधीकरण, उपयुक्त जात छनोट, बाली चक्र र सिँचाइ पूर्वाधार विस्तारका उपाय अघि बढाउने निर्णय भएको थियो।
वनगाढका वडा १, ३ र ६ लगायत क्षेत्रमा डिप बोरिङ तथा लिफ्ट सिँचाइ प्रणाली सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने योजना पनि अघि सारिएको छ।
समयमै पानी नपरेकाले उत्पादन घट्ने जोखिम रहे पनि पछिल्लो वर्षाका कारण ब्याडमै बेर्ना सुकेर खेत बाँझो रहने अवस्था भने टरेको कृषि शाखाले जनाएको छ।
