काठमाडौं । नेपालको ठूलो खुद्रा व्यापारिक सञ्जाल भाटभटेनी सुपरमार्केटले २४ घण्टा सेवा सञ्चालन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा भक्तपुर स्टोरबाट यसको परीक्षण थाल्ने भएको हो।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भदौ १ गतेदेखि भक्तपुर स्टोरको खाद्यान्न अर्थात् ग्रोसरी खण्ड २४ घण्टा सञ्चालन गरिनेछ। हाल उक्त स्टोर बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएको छ।
कम्पनीले यसलाई परीक्षण परियोजनाका रूपमा अघि बढाएको हो। भक्तपुरमा २४ घण्टे सेवा प्रभावकारी देखिएमा यही मोडालिटी अन्य स्टोरमा समेत विस्तार गर्ने योजना रहेको पौडेलले बताए।
रात्रिकालीन सेवाका लागि छुट्टै कर्मचारी व्यवस्थापन गरिनेछ। रातको सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबमा २५ प्रतिशत अतिरिक्त रकम उपलब्ध गराउनुका साथै चिया तथा खाजाको समेत व्यवस्था गरिने कम्पनीले जनाएको छ।
भक्तपुरको परीक्षण सफल भए देशभरका अन्य भाटभटेनी स्टोरमा समेत २४ घण्टा सेवा विस्तार गर्ने कम्पनीको तयारी छ। यससँगै ग्राहकले समयको सीमाबिना खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्नेछन्।
