बारा । नेपाल विद्युत् प्राधिकरणको सिमरा वितरण केन्द्रअन्तर्गत असार मसान्तसम्म उठाउनुपर्ने विद्युत् महसुल बक्यौता ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ। बारा पर्सा औद्योगिक करिडोरका ठूला उद्योगको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नउठ्दा बक्यौता उच्च देखिएको हो।
सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतका अनुसार चार ठूला उद्योगको मात्रै ७ अर्ब २१ करोड रुपैयाँ बक्यौता छ। हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनमध्ये जगदम्बा स्टिलको बक्यौता सबैभन्दा बढी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।
प्राधिकरणका अनुसार तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा जगदम्बा स्टिलले एक किस्ता र अन्य तीन उद्योगले दुई किस्ता महसुल बुझाएका थिए। तर गत मंसिरदेखि उद्योगहरूले डेडिकेटेड तथा ट्रंक लाइनको किस्ता बुझाउन छाडेका छन्। प्राधिकरणले बीचमा पत्राचार गरे पनि त्यसपछि बक्यौता असुलीमा थप प्रगति नभएको जनाएको छ।
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौताका कारण सिमरा वितरण केन्द्रले कुल महसुल शतप्रतिशत असुल गर्न नसकेको हो। केन्द्रअन्तर्गत औद्योगिक ग्राहकबाट मात्रै वार्षिक करिब ४ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठ्ने गरेको छ।
राजस्व ७७ करोडले बढ्यो
बक्यौता ठूलो भए पनि सिमरा वितरण केन्द्रको कुल राजस्व संकलन भने बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले ५ अर्ब १९ करोड रुपैयाँ राजस्व उठाएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको थियो। एक वर्षमा राजस्व ७७ करोड १० लाख रुपैयाँ बढेको हो।
केन्द्रअन्तर्गत बारा पर्साका ४२ हजार उपभोक्ता आबद्ध छन्। गत आर्थिक वर्षमा ८८० नयाँ ग्राहक थपिएका छन्। माग करिब २ हजार नयाँ ग्राहकको भए पनि मिटर अभावका कारण अपेक्षाअनुसार ग्राहक थप्न नसकिएको केन्द्रले जनाएको छ।
विद्युत् बिक्री ९ करोड युनिट बढ्यो
सिमरा वितरण केन्द्रबाट हुने विद्युत् बिक्री पनि उल्लेख्य बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३९ लाख युनिट विद्युत् बिक्री भएकोमा २०८२/८३ मा बढेर ६६ करोड ७४ लाख युनिट पुगेको छ।
एक वर्षमा विद्युत् बिक्री ९ करोड ३४ लाख युनिट बढेको केन्द्रका प्रमुख महतले बताए। औद्योगिक क्षेत्रको विद्युत् खपत बढेसँगै राजस्व संकलनमा पनि वृद्धि भएको उनको भनाइ छ।
चुहावट २ प्रतिशतमा सीमित
सिमरा वितरण केन्द्रमा विद्युत् चुहावट भने तुलनात्मक रूपमा न्यून छ। गत आर्थिक वर्ष केन्द्रको विद्युत् चुहावट २.०६ प्रतिशतमा सीमित रहेको छ। केन्द्रले ११ केभी लाइनको मर्मतसम्भार तथा अन्य प्राविधिक सुधारका कामलाई निरन्तरता दिएको जनाएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित पिलुवा सबस्टेसनदेखि वडा नम्बर ४ औराहासम्म विशेष आर्थिक क्षेत्र सिमराका लागि ३३ केभी प्रसारण लाइनसमेत सञ्चालनमा ल्याइएको छ।
सिमरा वितरण केन्द्रअन्तर्गत निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिकाका १८ वडा, वीरगञ्ज महानगरपालिकाका तीन वडा, पर्सागढी नगरपालिकाका ६ वडा र सखुवाप्रसौनी गाउँपालिकाको एक वडा पर्छन्। बारा पर्साको प्रमुख औद्योगिक क्षेत्र समेटिएको यस वितरण केन्द्रमा विद्युत् खपत र राजस्व बढे पनि ठूलो उद्योगको बक्यौता असुली भने मुख्य चुनौती बनेको छ।
