काठमाडौं । गुगलले पिक्सेल ११ सिरिजअन्तर्गत चार नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले पिक्सेल ११, पिक्सेल ११ प्रो, पिक्सेल ११ प्रो एक्सएल र फोल्डेबल पिक्सेल ११ प्रो फोल्ड सार्वजनिक गरेको हो।
नयाँ सिरिजका सबै मोडलमा गुगलको नयाँ टेन्सर जी६ चिपसेट, आईपी६८ सुरक्षा र जेमिनी एआईका थप सुविधा दिइएको छ। क्यामेरातर्फ पनि सुधार गर्दै ५ एक्स टेलिफोटो लेन्सलाई सिरिजको प्रमुख विशेषताका रूपमा अघि सारिएको छ।
पिक्सेल ११ मा क्यामेराको ठूलो सुधार
पिक्सेल ११ मा ४८ मेगापिक्सेल मुख्य, १३ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल ५ एक्स टेलिफोटो क्यामेरा छ। अगाडि १०.५ मेगापिक्सेल सेल्फी क्यामेरा दिइएको छ।
गुगलका अनुसार मुख्य क्यामेराले अघिल्लो मोडलभन्दा ५६ प्रतिशत बढी प्रकाश खिच्न सक्छ। ५ एक्स टेलिफोटोबाट ३० एक्ससम्म सुपर जुम गर्न सकिनेछ। क्यामेरा बम्प पनि पिक्सेल १० को तुलनामा ४० प्रतिशतभन्दा बढी पातलो बनाइएको कम्पनीले जनाएको छ।
पिक्सेल ११ ले ३० घण्टाभन्दा बढी ब्याट्री ब्याकअप दिने दाबी गरिएको छ भने वायरलेस चार्जिङ २५ प्रतिशत छिटो बनाइएको छ। यसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलर छ। आधारभूत भेरियन्टमै २५६ जीबी स्टोरेज र १२ जीबी -याम दिइएको छ।
प्रो मोडलमा १२० एक्ससम्म जुम
पिक्सेल ११ प्रो र प्रो एक्सएलमा ५० मेगापिक्सेल मुख्य, ४८ मेगापिक्सेल अल्ट्रावाइड र ४८ मेगापिक्सेल टेलिफोटो क्यामेरा राखिएको छ। टेलिफोटोबाट १२० एक्ससम्म प्रो जुम गर्न सकिनेछ भने सेल्फी क्यामेरा ४२ मेगापिक्सेलको छ।
प्रो मोडलको डिस्प्ले अधिकतम ३,६०० निट्ससम्म चम्किनेछ। क्यामेरा बारमा राखिएको नयाँ ‘हाइलाइट’ एलईडीले जेमिनी एआईसँगको अन्तरक्रिया र महत्वपूर्ण सम्पर्कबाट आउने कलजस्ता गतिविधिको संकेत दिनेछ।
पिक्सेल ११ प्रोको सुरुवाती मूल्य १,०९९ डलर र प्रो एक्सएलको १,२९९ डलर तोकिएको छ। दुवैमा आधारभूत रूपमा २५६ जीबी स्टोरेज र १२ जीबी -याम छ।
फोल्डेबलमा पनि टेन्सर जी६
पिक्सेल ११ प्रो फोल्डमा अघिल्लो पुस्ताभन्दा पातलो बेजल र तीन गुणा बढी टिकाउ डिजाइन रहेको गुगलको दाबी छ। फोनमा आईपी६८ वाटर तथा डस्ट रेजिस्टेन्स दिइएको छ।
दुवै डिस्प्ले अघिल्लो पुस्ताभन्दा २० प्रतिशत चम्किला छन् र भित्री डिस्प्लेले ३,६०० निट्ससम्म ब्राइटनेस दिन्छ। ४८ मेगापिक्सेल मुख्य, १०.५ मेगापिक्सेल अल्ट्रावाइड र १०.८ मेगापिक्सेल टेलिफोटो क्यामेरा रहेको फोल्डमा ३० एक्ससम्म सुपर जुम गर्न सकिनेछ।
पिक्सेल ११ प्रो फोल्डको सुरुवाती मूल्य १,८९९ अमेरिकी डलर तोकिएको छ। यसमा २५६ जीबी स्टोरेज र १६ जीबी ¥याम छ। फोन ओलिभ र ब्ल्याक गरी दुई रङमा उपलब्ध हुनेछ।
