काठमाडौं। गण्डकी प्रदेशमा पछिल्लो छ महिनामा कृषि उपजको निर्यातभन्दा आयात पाँच गुणाभन्दा बढी भएको छ। प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइको तथ्यांकअनुसार ५४२ मेट्रिक टन तरकारी तथा फलफूल निर्यात हुँदा २ हजार ९०७ मेट्रिक टन आयात भएको हो।
कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीका अनुसार उक्त अवधिमा २६६ मेट्रिक टन तरकारी निर्यात भएकोमा १ हजार ५९६ मेट्रिक टन आयात भएको छ। त्यस्तै १९८ मेट्रिक टन फलफूल निर्यात हुँदा ७३८ मेट्रिक टन आयात भएको छ।
खाद्यान्नतर्फ ७८ मेट्रिक टन निर्यात हुँदा ५७३ मेट्रिक टन आयात भएको तथ्यांक छ। यसले गण्डकीका कृषि उत्पादनले प्रदेशभित्रको माग धान्न नसकेको र बाहिरी जिल्लामा निर्भरता रहेको देखाएको छ।
तनहुँ, गोरखा, कास्की र लमजुङबाट कृषि उपज निर्यात हुने गरेको छ। आँबुखैरेनी हुँदै मुख्य रूपमा गोरखा, कास्की र लमजुङमा तरकारी तथा फलफूल जाने गरेका छन्। मौसमी तरकारी, फलफूल र स्थानीय उत्पादनको माग रहेकाले ती जिल्लामा निर्यात हुने गरेको अधिकारीले बताए।
त्यसैगरी चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुरबाट तनहुँ हुँदै कृषि उपज आयात हुने गरेको छ। गण्डकीका विभिन्न जिल्लामा उत्पादन पर्याप्त नहुने समयमा बाहिरी जिल्लाबाट तरकारी, फलफूल तथा खाद्यान्न ल्याउनुपर्ने अवस्था रहेको अधिकारीले बताए।
तनहुँमा व्यावसायिक तरकारीखेती, सुन्तलाजात फलफूल, धान, मकै तथा अन्य खाद्यान्न उत्पादनमा किसानको आकर्षण बढिरहेको छ। तर सिँचाइ, कृषि सडक, प्रविधि र बजार व्यवस्थापनमा सुधार गर्न सके उत्पादन क्षमता अझ बढाउन सकिने कृषि विकास कार्यालयको भनाइ छ।
कार्यालयले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण र बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। उत्पादन बढाउन सके बाहिरी जिल्लामाथिको निर्भरता घटाउनुका साथै गण्डकीबाट अन्य प्रदेशमा कृषि उपजको निर्यात बढाउन सकिने सम्भावना रहेको देखिन्छ।
