बेइजिङ: चीनको वैदेशिक व्यापारले सन् २०२६ को पहिलो सात महिनामा बलियो गति कायम राखेको छ। जनवरीदेखि जुलाईसम्म चीनको कुल आयात–निर्यात कारोबार ३०.१३खर्ब युआन (करिब ४.४६ खर्ब अमेरिकी डलर) पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.३ प्रतिशत बढी हो।
जुलाईमा मात्रै चीनको कुल वैदेशिक व्यापार ४.६६ खर्ब युआन पुगेको छ। यो वार्षिक आधारमा १९.२ प्रतिशतको वृद्धि हो। जुलाई लगातार पाँचौँ महिना हो, जब चीनको मासिक आयात–निर्यात कारोबार ४ खर्ब युआनभन्दा माथि पुगेको छ।
जुलाईमा चीनको निर्यात १७.८ प्रतिशत र आयात २१.२ प्रतिशत बढेको छ। आयातको वृद्धिदर निर्यातभन्दा उच्च देखिनुले घरेलु मागमा समेत सुधार आएको संकेत गरेको छ।
चीनको वैदेशिक व्यापारमा उच्च प्रविधियुक्त वस्तुको हिस्सा पनि तीव्र रूपमा बढिरहेको छ। जुलाईमा औद्योगिक रोबोट र थ्रीडी प्रिन्टरलगायत उच्च प्रविधिका उत्पादनको निर्यात अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५० प्रतिशतभन्दा बढी बढेको छ।
यो वृद्धि वर्षको पहिलो छ महिनामा देखिएको ३९ प्रतिशतको वृद्धिभन्दा पनि तीव्र हो। जुलाईमा उच्च प्रविधिका उत्पादनले चीनको कुल निर्यात वृद्धिको करिब ६० प्रतिशत हिस्सा योगदान गरेको बताइएको छ।
यसले चीनको निर्यात संरचना सस्तो तथा परम्परागत उत्पादनबाट उच्च मूल्य अभिवृद्धि र प्रविधिमा आधारित वस्तुतर्फ तीव्र रूपमा परिवर्तन भइरहेको देखाएको छ। विशेषगरी औद्योगिक रोबोट, थ्रीडी प्रिन्टर तथा अन्य प्रविधियुक्त उत्पादनको बढ्दो निर्यातले चीनको उत्पादन क्षमता र नवप्रवर्तनमा आधारित व्यापार विस्तारलाई प्रतिबिम्बित गरेको छ।
चीनको व्यापार वृद्धिले विश्व अर्थतन्त्रमा उसको आपूर्ति तथा उत्पादन भूमिकालाई अझ बलियो बनाएको छ। बढ्दो उच्च प्रविधि निर्यातले चीनको वैदेशिक व्यापार अब केवल परिमाणमा विस्तार भइरहेको नभई उच्च मूल्य र प्रविधिमा आधारित संरचनागत रूपान्तरणतर्फ समेत अघि बढिरहेको संकेत गरेको छ।

