काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा २९ अर्ब ३१ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशत बढी हो। भारतसँगको विद्युत् व्यापार विस्तार र नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि निर्यात उल्लेख्य बढेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा कामु प्रमुख कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार प्राधिकरणले विद्युत् बिक्री र अन्य आम्दानीबाट कुल १ खर्ब ६६ अर्ब रुपैयाँ आम्दानी गरेको छ। विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षभन्दा १८.२० प्रतिशत बढी हो।
प्राधिकरणको कुल नाफा १३.७७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। तर विदेशी विनिमय दरमा भएको वृद्धि र ब्याज खर्चका कारण खुद नाफा १२ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको श्रेष्ठले बताए।
समीक्षा वर्षमा प्राधिकरणले १० अर्ब ५६ करोड रुपैयाँको विद्युत् आयात गरेको छ। आयातको तुलनामा निर्यात आम्दानी करिब तीन गुणा बढी देखिएको छ। भारतसँग भएका विभिन्न सम्झौता र नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि सीमापार विद्युत् व्यापार थप विस्तार भएको प्राधिकरणको भनाइ छ।
आर्थिक वर्षको अन्त्यसम्म नेपालको कुल जडित विद्युत् क्षमता ४ हजार १२० मेगावाट पुगेको छ। एक वर्षमै प्रणालीमा ५२९ मेगावाट विद्युत् थपिएको छ। प्राधिकरणका ग्राहक संख्या ३.८५ प्रतिशतले बढेर ५९ लाख २७ हजार पुगेका छन्।
कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा ९०.६४ प्रतिशत छ। औद्योगिक ग्राहक १.२० प्रतिशत र अन्य ग्राहक ८.१६ प्रतिशत छन्।
प्रसारणतर्फ कोसी करिडोर, चिलिमे त्रिशूली र कालीगण्डकी करिडोरजस्ता महत्वपूर्ण आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ। हाल देशभर ७ हजार ११० सर्किट किलोमिटर प्रसारण लाइन र १५ हजार ५४१ एमभीए क्षमताका सबस्टेसन सञ्चालनमा छन्।
काठमाडौं, पोखरा र भरतपुरमा वितरण प्रणाली भूमिगत गर्ने कामलाई पनि प्राधिकरणले तीव्रता दिएको छ। बागमती र लुम्बिनी प्रदेशमा ‘लाइभ लाइन मेन्टेनेन्स’ सेवा सुरु गरिएको छ, जसबाट विद्युत् आपूर्ति बन्द नगरी मर्मत सम्भार गर्न सकिनेछ।
सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्य पूरा गर्न प्राधिकरणले जलाशययुक्त आयोजना, सौर्य ऊर्जा र हरित हाइड्रोजनमा लगानी बढाउने जनाएको छ। सेवा प्रवाहलाई थप सहज बनाउन कृत्रिम बौद्धिकता र डिजिटल प्रणालीको प्रयोगसमेत विस्तार गर्ने योजना प्राधिकरणको छ।
