काठमाडौं । फेरारीको पहिलो पूर्ण विद्युतीय कार एक च्यारिटीका लागि आयोजित लिलामीमा ४ करोड अमेरिकी डलर अर्थात् करिब ६११ करोड रुपैयाँमा बिक्री भएको छ ।
यससँगै यो कार लिलामीमा बिक्री भएको नयाँ कारमध्ये अहिलेसम्मकै सबैभन्दा महँगो बनेर नयाँ कीर्तिमान कायम गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियामा भएको लिलामीमा ‘फेरारी लूचे’ नामको यो कार सामान्य मूल्यभन्दा ३५ गुणाभन्दा बढी रकममा बिक्री भएको हो ।
लिलामी आयोजकका अनुसार यो कार ‘पहिलो प्रोडक्सन चेसिस’ हो । यसमा विशेष फिनिसका साथै विभिन्न कस्टम पाट्र्स जडान गरिएको छ ।
लूचेको डिजाइन एप्पलका आईफोनका चर्चित डिजाइनर सर जोनी आइभको अवधारणाबाट विकसित भएको मानिन्छ । मे महिनामा सार्वजनिक गरिएपछि भने कारले केही आलोचना पनि खेपेको थियो । आलोचकहरूले यसको डिजाइन फेरारीको परम्परागत शैलीभन्दा फरक भएको बताएका थिए ।
त्यस्तै, ब्याट्रीबाट चल्ने र पाँच सिट भएको कार निर्माण गरेर फेरारीले आफ्नो परम्परागत पहिचान गुमाएको टिप्पणी पनि भएको थियो ।
आयोजकका अनुसार लिलामीबाट प्राप्त सम्पूर्ण रकम फेरारी फाउन्डेसनका शैक्षिक कार्यक्रमका लागि दान गरिनेछ ।
यो विशेष कस्टम लूचे खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन ।
लूचेको सार्वजनिक प्रस्तुति पछिल्ला वर्षहरूमा नयाँ कारको सबैभन्दा चर्चित लन्चमध्ये एक मानिएको थियो । तर यसको सार्वजनिक प्रस्तुतिको भोलिपल्ट फेरारीको सेयर मूल्यमा गिरावट आएको थियो ।
कारको डिजाइनलाई लिएर भएको आलोचनालाई पनि सेयर बजारमा आएको गिरावटको एउटा कारण मानिएको थियो ।
कारको आलोचना गर्नेमा इटालीका उपप्रधानमन्त्री मातेओ साल्भिनी तथा फेरारीका पूर्वअध्यक्ष लुका कोर्डेरो दी मोन्टेजेमोलोसमेत थिए । मोन्टेजेमोलोले लूचेले फेरारीको ‘किंवदन्ती’ नै समाप्त हुने जोखिम निम्त्याएको टिप्पणी गरेका थिए ।
फेरारीका प्रमुख डिजाइन अधिकृत फ्लाभियो मान्जोनीले भने आलोचना नवप्रवर्तनको प्रक्रियाकै हिस्सा भएको बताएका थिए । उनले समयसँगै मानिसहरूले लूचेलाई मन पराउने विश्वास व्यक्त गरेका थिए ।
फेरारीले लूचेको बिक्री लक्ष्य सार्वजनिक गरेको छैन । यद्यपि, फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार चीनमा बलियो माग रहेकाले फेरारीले यस वर्षको आफ्नो बिक्री लक्ष्य लन्च भएको पहिलो सातामै पूरा गरिसकेको छ ।
लिलामीकर्ताले यो कारलाई लूचेको पहिलो प्रोडक्सन कार खरिद गर्ने ‘अद्वितीय अवसर’का रूपमा प्रस्तुत गरेको थियो । कारमा विशेष डिजाइनका पाङ्ग्रा, कस्टमाइज्ड ब्रेक तथा सेतो रंगको विशेष फिनिस दिइएको छ ।
फेरारीका कारहरूले विश्वका विभिन्न कार लिलामीमा प्रायः उच्च मूल्य हासिल गर्दै आएका छन् । यद्यपि, लिलामीमा बिक्री भएको अहिलेसम्मकै सबैभन्दा महँगो कारको कीर्तिमान भने १९५५ मा बनेको मर्सिडिज–बेन्ज ३०० एसएलआर उलेनहाउट कूपको नाममा छ । उक्त कार सन् २०२२ मा १४ करोड २० लाख डलरमा बिक्री भएको थियो ।
