काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको आम्दानी १० प्रतिशतले बढेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनमा सरकारको कुल आम्दानी ९३ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसपटक सरकारी आम्दानी ८ अर्ब २४ करोड रुपैयाँले बढेको हो।
सरकारले साउनमा सबैभन्दा बढी कर राजस्वबाट आम्दानी गरेको छ। कर राजस्वतर्फ ८५ अर्ब १९ करोड ६ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ७ अर्ब ३ करोड ४७ लाख रुपैयाँ संकलन भएको छ। यस्तै, वैदेशिक अनुदानबाट २४ करोड ३ लाख रुपैयाँ प्राप्त भएको छ।
चालु आर्थिक वर्षमा सरकारले कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
पुँजीगत खर्च १ प्रतिशत पनि पुगेन
राजस्व संकलनमा सुधार आए पनि सरकारी खर्च भने सुस्त देखिएको छ। साउनमा सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ, जुन वार्षिक बजेट विनियोजनको १.९७ प्रतिशत हो।
चालु खर्चतर्फ विनियोजित १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँमध्ये साउनसम्म २१ अर्ब ४० करोड ३८ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको १.६८ प्रतिशत हो।
विकास निर्माणसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने अझै कमजोर छ। पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएकोमा साउनसम्म ०.३१ प्रतिशत मात्रै खर्च भएको छ।
वित्तीय व्यवस्थातर्फ भने १९ अर्ब १५ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ। यो शीर्षकमा विनियोजित वार्षिक बजेटको ४.५३ प्रतिशत हो।
सरकारले चालु आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ। राजस्व संकलनले वर्षको सुरुआतमै सकारात्मक गति लिए पनि पुँजीगत खर्चको कमजोर कार्यान्वयनले विकास बजेट खर्च बढाउन सरकारमाथि दबाब थपिएको छ।
