काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आफ्नो नवौँ वार्षिकोत्सव मनाएको छ। कम्पनीले वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायतका कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
कम्पनीले भदौ १ गते केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। देशभर रहेका शाखा कार्यालयमार्फत पनि रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा जीवन बीमासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भइरहेका छन्।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले वार्षिकोत्सवका अवसरमा सञ्चालन गरिएका कार्यक्रमले समाजका विभिन्न वर्गलाई प्रत्यक्ष सहयोग पुर्याउनुका साथै जीवन बीमाको महत्वबारे जनचेतना बढाउने उद्देश्य राखेको बताए।
उनका अनुसार रक्तदानले अस्पतालमा हुने रगतको अभाव कम गर्न सहयोग पुग्नेछ भने वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुर्याउनेछ। खाद्यान्न वितरणमार्फत आर्थिक रूपमा विपन्न परिवारलाई प्रत्यक्ष राहत पुर्याउने लक्ष्य राखिएको उनले बताए।
वार्षिकोत्सवकै अवसरमा आइएमई लाइफले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य सम्झौता पनि गरेको छ। सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशमै अनुसन्धान तथा विकास गरी उत्पादन गरेको ‘न्यानो नानी’ अर्थात् बेबी वार्मर उपकरण आइएमई लाइफको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले सम्झौताले दुई संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको बताए। नवजात शिशुको स्वास्थ्यमा प्रविधिमार्फत सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धतालाई पनि यस सहकार्यले थप बलियो बनाएको उनको भनाइ छ।
‘न्यानो नानी’ समयअगावै जन्मिएका वा कम तौल भएका नवजात शिशुलाई आवश्यक तापक्रम उपलब्ध गराउन प्रयोग हुने चिकित्सकीय उपकरण हो। विशेषगरी दुर्गम क्षेत्रमा स्वास्थ्य पूर्वाधार र उपकरणको अभाव रहेका ठाउँमा यो उपकरण उपयोगी हुने कम्पनीले जनाएको छ।
सहकार्यको पहिलो चरणमा आइएमई लाइफले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थालाई १० थान ‘न्यानो नानी’ उपकरण उपलब्ध गराउने भएको छ। भौगोलिक विकटता, सीमित स्वास्थ्य पूर्वाधार र स्वास्थ्य सेवामा कमजोर पहुँच रहेका क्षेत्रमा नवजात शिशुको उपचार सहज बनाउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो।
उपकरणहरू सम्बन्धित स्वास्थ्य संस्थामा जडान गरिनेछन्। यसबाट नवजात शिशुको स्वास्थ्य उपचारमा सहजता ल्याउनुका साथै शिशु मृत्युदर घटाउन र आमा तथा शिशु स्वास्थ्य सेवामा सुधार ल्याउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।
प्रमुख कार्यकारी अधिकृत खड्काका अनुसार कार्यक्रम कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो। कम्पनीले स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। ‘न्यानो नानी’ कार्यक्रमलाई अन्य प्रदेश तथा जिल्लामा समेत क्रमशः विस्तार गर्ने योजना कम्पनीको छ।
जीवन बीमाको पहुँच विस्तार, ग्राहकको वित्तीय सुरक्षा बलियो बनाउने र बीमासम्बन्धी जनचेतना बढाउने उद्देश्यसहित सञ्चालनमा आएको आइएमई लाइफले नौ वर्षको अवधिमा देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरेको जनाएको छ।
कम्पनीले छिटोछरितो दाबी भुक्तानी, सहज सेवा र दक्ष जनशक्तिमार्फत ग्राहकको विश्वास कायम राख्दै बीमा सेवा विस्तार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
