म्याग्दी। मङ्गला गाउँपालिका–५ पोकदेखि नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि रु पाँच करोड बजेटको स्रोत सुनिश्चित गरिने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को योजनामा समावेश यो सडक बहुवर्षीय ठेक्कामार्फत स्तरोन्नति गर्न लागिएको हो।
सडक स्तरोन्नतिको पूर्वतयारीस्वरूप जनप्रतिनिधि, प्राविधिक तथा स्थानीय बासिन्दाको उपस्थितिमा सर्वेक्षण सुरु गरिएको छ। सर्वेक्षणका आधारमा लागत अनुमान तयार गरी अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएपछि ठेक्का आह्वान गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीको सिफारिसमा चालु आर्थिक वर्षका लागि सडक योजना छनोट गरिएको हो। प्रदेश सरकारको नीतिअनुसार प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको सिफारिसमा एक निर्वाचन क्षेत्रमा रु पाँच करोडसम्मको स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का लगाउने व्यवस्था छ। चालु वर्षका लागि भने आयोजनामा रु एक करोड बजेट विनियोजन गरिएको छ।
प्रदेशसभा सदस्य जुग्जालीका अनुसार म्याग्दीको रणनीतिक महत्वसँगै बागलुङलाई जोड्ने पुरानो सडक भएकाले जोखिमपूर्ण र अप्ठ्यारा खण्ड सुधार गर्न योजना अघि बढाइएको हो। यसअघि आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक कृषि सडक’ कार्यक्रममार्फत रु एक करोड खर्चिएर सडक स्तरोन्नति गरिएको थियो।
यसपटक माटेबगर–पोक मोटरेबल पुलअघिको घुम्तीबाट पोकसम्म, नेटाको घुम्ती, खोलाखर्क तथा अर्मन क्षेत्रका अप्ठ्यारा खण्डमा ग्रेड र मोड सुधार, नाली निर्माण, ग्यावियन पर्खाल तथा ढलानको काम गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा. महेन्द्र बानियाँले बताउनुभयो।
मङ्गला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र वडा नं. ५ का अध्यक्ष भूपेन्द्र खत्रीले लामो समयदेखि ओझेलमा परेको महत्वपूर्ण सडक योजनालाई प्राथमिकतामा ल्याएको भन्दै प्रदेशसभा सदस्य जुग्जालीप्रति धन्यवाद दिएका छन्। उनीहरूले आयोजना गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीय तहबाट आवश्यक सहजीकरण गर्ने बताएका छन्।
विसं २०६४ मा मार्ग खुलेको यो सडकको पोक–गहते खण्डमा सामान्य सुधार भए पनि प्रवेशबिन्दुदेखि नेटा–अर्मन–किमचौर–ताराखोला खण्ड अझै कच्ची छ। सडकको ग्रेड र मोडसमेत नमिल्दा वर्षायाममा मात्रै होइन, सामान्य अवस्थामा पनि यात्रा कठिन हुने गरेको स्थानीयको गुनासो छ।
सांसद जुग्जालीले उपलब्ध बजेटबाट प्राथमिकताका अप्ठ्यारा खण्ड सुधार गरिने र बाँकी सडकको स्तरोन्नतिका लागि पनि प्रदेश तथा संघीय सरकारसँग पहल जारी राख्ने बताउनुभएको छ।
