काठमाडौं। नेपाल आउने विदेशी नागरिकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाइन बसेर भिसा लिनुपर्ने बाध्यता हट्ने भएको छ । अध्यागमन विभागले नेपाल आउनुअघि नै अनलाइनमार्फत ई–भिसा लिन सक्ने व्यवस्था लागू गर्ने तयारी पूरा गरेको छ ।
विभागले करिब तीन वर्षको परीक्षण र तयारीपछि भदौ १५ गतेदेखि ई–भिसा प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । प्राविधिक तथा प्रशासनिक तयारी पूरा भइसकेको विभागका निमित्त महानिर्देशक टीकाराम ढकालले बताए ।
“ई–भिसाका लागि सबै तयारी पूरा भइसकेको छ । भदौ १५ देखि लागू गर्ने हाम्रो तयारी छ,” ढकालले भने । उनका अनुसार ई–भिसा कार्यान्वयनका लागि आवश्यक कानुनी संशोधनको प्रस्तावसमेत गृह मन्त्रालयमा पठाइसकिएको छ । हालको अध्यागमन नियमावलीमा ई–भिसासम्बन्धी स्पष्ट व्यवस्था नभएकाले मन्त्रिपरिषद्बाट नियमावली संशोधन गर्ने तयारी छ ।
ई–भिसा प्रणाली लागू भएपछि विदेशी नागरिकको पासपोर्टमा भिसा स्टिकर टाँस्नुपर्ने छैन । नेपाल भ्रमणमा आउन चाहने विदेशीले आफू रहेको स्थानबाटै अनलाइन आवेदन दिई शुल्क भुक्तानी गर्न सक्नेछन् । आवेदन स्वीकृत भएपछि ई–भिसा प्रिन्ट गरेर नेपाल आउन सकिनेछ ।
नेपाल प्रवेश गर्दा अध्यागमन अधिकारीले ई–भिसाको विवरण तथा वैधता जाँच गरी पासपोर्टमा आगमनको छाप लगाउनेछन् । विभागका अनुसार यसबाट विमानस्थलमा भिसा लिन लाग्ने समय घट्नुका साथै अध्यागमनमा हुने भिडभाड पनि कम हुनेछ ।
“यसले अध्यागमनमा हुने भिडभाड कम हुनेछ । विदेशीलाई सहज हुने मात्रै होइन, हाम्रा कर्मचारीको कामको चाप पनि घट्नेछ,” ढकालले भने ।
ई–भिसा प्रणाली भिसा नवीकरणमा समेत लागू हुनेछ । नेपालमा रहेका विदेशी नागरिकले भिसा अवधि थप गर्न कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हट्नेछ । उनीहरूले नेपालकै जुनसुकै स्थानबाट अनलाइन आवेदन तथा भुक्तानीमार्फत भिसा नवीकरण गर्न सक्ने विभागले जनाएको छ ।
ई–भिसाको तयारी भने २०८० फागुनदेखि सुरु भएको थियो । त्यतिबेला विभागले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट ‘इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन’ तथा अनलाइन भुक्तानी प्रणालीको उद्घाटन गराएको थियो । तर, प्राविधिक तथा कानुनी तयारी पूरा नहुँदा उक्त प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको थिएन ।
लामो परीक्षण, प्राविधिक सुधार र कानुनी तयारीपछि विभागले अब प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको हो । विकसित मुलुकहरूमा व्यापक रूपमा प्रयोग हुँदै आएको ई–भिसा प्रणालीले नेपालमा विदेशी पर्यटकको आगमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
तर, प्रणाली पूर्ण रूपमा डिजिटल भएकाले यसको सञ्चालनमा प्राविधिक पूर्वाधार, प्रणालीको स्थायित्व र तथ्यांक सुरक्षाजस्ता चुनौतीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने अध्यागमन अधिकारीहरूको भनाइ छ ।
