काठमाडौं। रसुवाको गतलाङमा ड्रोन प्रयोग गरेर वन तथा चरन क्षेत्र पुनर्स्थापना गर्ने नयाँ प्रविधिको प्रयोग सुरु गरिएको छ। नेपालमा पहाडी चरन क्षेत्र पुनर्स्थापनाका लागि ड्रोनबाट बीउ छरिएको यो पहिलोपटक हो।
सन् २००९ मा गतलाङमा करिब १०० दिनसम्म फैलिएको भीषण डढेलोले ४७२ हेक्टर वन क्षेत्र नष्ट गरेको थियो। डढेलोपछि चरन क्षेत्र बिग्रिँदा याकपालक परिवार प्रभावित भएका थिए।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) र त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थानले हातबाट बीउ छर्न कठिन हुने भिरालो तथा दुर्गम क्षेत्रमा ड्रोनमार्फत १२५ किलोग्रामभन्दा बढी जुनिपरको बीउ छरेका छन्।
स्थानीय समुदायले झारपात हटाएर स्थानीय घाँस पुनः रोप्नुका साथै जिल्ला वन कार्यालयले पुनर्स्थापनाका कार्यविधिमा सुधार गरेको छ। नेपाली अनुसन्धानकर्ताले कुन विधि प्रभावकारी हुन्छ भन्ने परीक्षणसमेत गरिरहेका छन्।
बढ्दो वन डढेलोको जोखिमबीच गतलाङको यो प्रयासले नेपालका डढेलो प्रभावित पहाडी क्षेत्र पुनर्स्थापनाका लागि नयाँ प्रविधि र कार्यविधिको आधार तयार गर्ने अपेक्षा गरिएको छ।
