काठमाडौं। सेयर बजारमा कारोबार र लगानीकर्ताको नाफा घटेसँगै सरकारले पुँजीबजारबाट उठाउने पुँजीगत लाभकर पनि ६ अर्ब १९ करोड रुपैयाँले घटेको छ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले पुँजीबजारबाट १६ अर्ब ५४ करोड रुपैयाँ लाभकर उठाएकोमा २०८२/८३ मा यो रकम घटेर १० अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको हो।
बजार गतिविधिमा आएको गिरावटले राजस्वमा प्रत्यक्ष असर पारेको हो। २०८१/८२ को असारमा नेप्से करिब २ हजार ८७५ अंकमा रहँदा दैनिक औसत कारोबार १६ अर्ब रुपैयाँभन्दा बढी थियो। गत आर्थिक वर्षको असारसम्म नेप्से २ हजार ७१७ अंकमा झर्दा कारोबार पनि दैनिक औसत करिब साढे ५ अर्ब रुपैयाँमा सीमित भयो।
सरकारले चालु आर्थिक वर्षदेखि पुँजीगत लाभकरको दर बढाएर अल्पकालीन लगानीकर्ताका लागि १० प्रतिशत र दीर्घकालीनका लागि ७.५ प्रतिशत पुर्याए पनि राजस्वमा सुधार आउन सकेको छैन।
चालु आर्थिक वर्षको साउनमै लाभकर ६२ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो साउनमा २ अर्ब १६ करोड रुपैयाँभन्दा बढी उठेको थियो।
सीडीएससीका अनुसार गत आर्थिक वर्षको कुल लाभकरमध्ये ६ अर्ब १८ करोड २७ लाख रुपैयाँ दीर्घकालीन लगानीकर्ताबाट उठेको थियो। पछिल्ला पाँच वर्षमा भने कुल लाभकरको करिब ६०–६५ प्रतिशत हिस्सा अल्पकालीन कारोबारबाट आउने गरेको छ।
यसले करको दरभन्दा बजार कारोबार र लगानीकर्ताको नाफा सरकारी राजस्वका लागि निर्णायक हुने देखाएको छ।
