काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ मा यसपटक केही नयाँ ब्रान्डले पहिलोपटक सहभागिता जनाउने भएका छन् । नयाँ ब्रान्ड र नयाँ प्रविधिको प्रवेशसँगै नेपाली अटो बजारमा मूल्य, डिजाइन, प्रविधि, रेन्ज र बिक्रीपछिको सेवामा प्रतिस्पर्धा थप चर्किने देखिएको छ ।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ संस्करणको नाडा अटो शोमा चारपाङ्ग्रेतर्फ जेटोर तथा दुईपाङ्ग्रेतर्फ यात्री, क्युजे मोटर, मेटा ईभीलगायतका ब्रान्ड पहिलोपटक सहभागी हुँदैछन् । पेट्रोल मोटरसाइकलदेखि विद्युतीय स्कुटरसम्मका नयाँ उत्पादन प्रदर्शनीमा राख्ने तयारी भइरहेको छ ।
यसपटकको प्रदर्शनीमा चिनियाँ ब्रान्ड क्युजे मोटर र मेटा ईभीले नेपाली उपभोक्तामाझ आफ्ना उत्पादन प्रस्तुत गर्नेछन् । भारतमा उत्पादन भएका रेभोल्ट र एम्पेयरका विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनले पनि नाडामा उपस्थिति जनाउने तयारी गरेका छन् । भारतीय इलेक्ट्रिक ब्रान्ड भिडा पनि नाडामा पहिलोपटक सहभागी हुँदैछ ।
नयाँ ब्रान्डको प्रवेशसँगै नेपाली उपभोक्ताका लागि सवारीसाधन छनोटको दायरा फराकिलो हुने भएको छ । विशेषगरी विद्युतीय सवारीसाधनमा नयाँ प्रविधि, लामो रेन्ज, आकर्षक डिजाइन र प्रतिस्पर्धी मूल्यसहित बजारमा प्रवेश गर्ने होड बढेको छ ।
नाडा अटो शो कम्पनीहरूका लागि नयाँ मोडल सार्वजनिक गर्ने, प्रविधि प्रदर्शन गर्ने र बजार विस्तार गर्ने प्रमुख प्लेटफर्म बन्दै आएको छ । त्यसैले नयाँ ब्रान्डले प्रदर्शनीलाई नेपाली बजारमा आफ्नो पहिचान स्थापित गर्ने अवसरका रूपमा प्रयोग गर्ने देखिन्छ ।
यसपटक नाडामा दुईपाङ्ग्रे सवारीसाधनतर्फ १२ वटा ब्रान्ड सहभागी हुने तयारीमा छन् । पुराना स्थापित ब्रान्डसँगै नयाँ कम्पनीको प्रवेशले प्रदर्शनीलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ ।
यात्री पी२ मा बढ्दो चासो
नेपालमै डिजाइन, विकास र उत्पादन गरिएको यात्रीको इलेक्ट्रिक स्कुटर पी२ नाडा अटो शोमा पहिलोपटक सार्वजनिक हुँदैछ । सिप्रदी र यात्रीको सहकार्यमा विकास गरिएको यो स्कुटर औपचारिक रूपमा बजारमा आउनुअघि नै चर्चामा छ ।
कम्पनीका अनुसार पी२ को डिजाइनदेखि विकास र उत्पादनसम्मको काम नेपालमै गरिएको हो । नेपाली बजारमा उपलब्ध स्कुटरका कमजोरीलाई ध्यानमा राखेर नयाँ डिजाइन र प्रविधिसहित पी२ तयार गरिएको कम्पनीको दाबी छ ।
पी२ को विशेष आकर्षणका रूपमा दुईपाङ्ग्रे सवारीमा पहिलोपटक डीसी चार्जर प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्कुटरलाई नेपालका विभिन्न स्थानमा १ लाखभन्दा बढी किलोमिटर परीक्षण गरिएको दाबी गरिएको छ ।
हालसम्म स्कुटरका सबै प्राविधिक विवरण सार्वजनिक गरिएको छैन । कम्पनीले सार्वजनिक गरेका टिजर तथा परीक्षणका क्रममा देखिएका तस्बिरअनुसार पी२ को डिजाइन परम्परागत स्कुटरभन्दा फरक छ । मोटरसाइकलजस्तो देखिने अगाडिको भाग, मस्कुलर रियर डिजाइन, एलईडी हेडलाइट र फराकिलो सिट यसको प्रमुख विशेषता देखिन्छ ।
पी२ मा १४ इन्चको एलोय ह्विल, आल्मुनियम स्विङआर्म र डबल साइडेड स्प्रिङ सस्पेन्सन प्रयोग गरिएको देखिन्छ । मिडमाउन्ट मोटर, फराकिलो फ्लोरबोर्ड तथा शार्प एज डिजाइनले यसलाई अन्य इलेक्ट्रिक स्कुटरभन्दा फरक देखाउने प्रयास गरिएको छ । ब्याट्री क्षमता र मोटर पावरबारे भने कम्पनीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
क्युजेका पाँच बाइक र ईभी
क्युजे मोटर पनि नाडामा पहिलोपटक सहभागी हुँदैछ । हाइली एड्भान्स मोटर (ह्याम्स) ले यो ब्रान्डका उत्पादन प्रदर्शनीमा राख्ने तयारी गरेको छ ।
ह्याम्सले १२५ सीसीदेखि ३०० सीसीसम्मका पाँच मोडलका मोटरसाइकल तथा इलेक्ट्रिक र पेट्रोल गरी विभिन्न स्कुटर प्रदर्शन गर्ने तयारी गरेको छ । यद्यपि नाडामा कुन–कुन मोडल राखिने भन्ने अन्तिम विवरण सार्वजनिक गरिएको छैन ।
क्युजे इटालियन ब्रान्ड भए पनि यसको उत्पादन चीनमा हुँदै आएको छ । कम्पनीले १३० भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको दाबी गरेको छ । साना क्षमताका स्कुटरदेखि नेकेड, क्रुजर, एड्भेन्चर र स्पोर्ट्स मोटरसाइकलसम्म उत्पादन गर्दै आएको क्युजेले पछिल्लो समय विद्युतीय सवारीसाधनमा समेत लगानी विस्तार गरिरहेको छ ।
भिडा र मेटा ईभीको तयारी
भारतीय इलेक्ट्रिक ब्रान्ड भिडा नेपाली बजारमा नयाँ भए पनि नाडा अटो शोमा भने पहिलोपटक सहभागी हुँदैछ । नेपालमा हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले भिडाका उत्पादन बिक्री गर्दै आएको छ ।
भिडाले नेपाली बजारमा भीएक्स२ का दुई भेरियन्ट उपलब्ध गराएको छ । भीएक्स२ गोको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र भीएक्स२ प्लसको मूल्य ३ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
गो भेरियन्टमा २.२ किलोवाटआवर र प्लसमा ४.४ किलोवाटआवरको ब्याट्री उपलब्ध छ । कम्पनीका अनुसार यी मोडलले एकपटकको पूर्ण चार्जमा क्रमशः ९३ किलोमिटर र १८७ किलोमिटर आईडीसी रेन्ज दिन्छन् ।
त्यस्तै मेटा ईभी पनि नाडामा पहिलोपटक सहभागी हुँदैछ । कम्पनीले कुन मोडल र कस्ता उत्पादन प्रदर्शनीमा राख्ने भन्ने विस्तृत विवरण भने सार्वजनिक गरेको छैन ।
नयाँ ब्रान्डको यो प्रवेशले नेपाली अटो बजारको बदलिँदो स्वरूपलाई समेत देखाएको छ । विशेषगरी विद्युतीय सवारीसाधनमा बढ्दो मागसँगै नयाँ कम्पनीहरू बजार प्रवेश गरिरहेका छन् । अब प्रतिस्पर्धा केवल ब्रान्ड र मूल्यमा सीमित नरही प्रविधि, ब्याट्री क्षमता, रेन्ज, डिजाइन, चार्जिङ सुविधा र बिक्रीपछिको सेवासम्म विस्तार हुने देखिएको छ ।
यसको प्रत्यक्ष लाभ भने उपभोक्ताले पाउने सम्भावना छ । धेरै ब्रान्ड र मोडलबीच प्रतिस्पर्धा बढ्दा कम्पनीहरूलाई मूल्य प्रतिस्पर्धी बनाउन, नयाँ प्रविधि भित्र्याउन र ग्राहक सेवामा सुधार गर्न दबाब पर्नेछ ।
