काठमाडौं । राइडरहरूले न्यूनतम २५ रुपैयाँ प्रतिकिलोमिटर भाडा कायम गर्नुपर्ने माग गरिरहेका बेला पठाओ नेपालले राइडरको उचित आम्दानी सुनिश्चित गर्न साझा भाडादर निर्धारण गर्नुपर्ने जनाएको छ ।
पठाओले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत सरकार, राइडर प्रतिनिधि र डिजिटल प्लेटफर्मबीच सहमति गरेर सबै राइड सेयरिङ प्लेटफर्ममा समान रूपमा लागू हुने भाडादर निर्धारण भए त्यसअनुसार आफ्नो भाडा संरचना परिवर्तन गर्न तयार रहेको जनाएको हो ।
कम्पनीका अनुसार राइडरको श्रम, समय, लगानी र जोखिमको उचित मूल्य सुनिश्चित हुन आवश्यक छ । राइडरको आम्दानी आर्थिक रूपमा दिगो भए मात्र सवारीसाधनको मर्मतसम्भार, सुरक्षा र ग्राहकलाई भरपर्दो सेवा दिन सहज हुने कम्पनीको भनाइ छ ।
पठाओले आफ्नो हालको भाडा संरचना प्रतिकिलोमिटरको निश्चित दरमा आधारित नभएको जनाएको छ । बेस फेयर, प्रतिकिलोमिटर शुल्क र प्रतिमिनेट शुल्कका आधारमा राइडको भाडा निर्धारण गरिने कम्पनीले जनाएको छ ।
विभिन्न दूरीका सामान्य राइडको समग्र हिसाब गर्दा प्रभावकारी भाडादर औसतमा करिब २५ रुपैयाँ प्रतिकिलोमिटर आसपास पर्ने पठाओको दाबी छ । कम्पनीले इन्धन, सवारीसाधनको लागत, ह्रास, मर्मतसम्भार र सञ्चालन खर्चलाई समेत भाडा निर्धारणको आधार बनाउने जनाएको छ ।
पठाओका अनुसार बाइक सेवामा रहेको २० प्रतिशतसम्मको कमिसन संरचना परिवर्तन गरी हाल १२ रुपैयाँको निश्चित प्लेटफर्म शुल्क कायम गरिएको छ । उक्त शुल्क राइडरको आम्दानीबाट कटौती नभई ग्राहकले तिर्ने भाडामै समावेश हुने कम्पनीले जनाएको छ ।
कम्पनीले राइडरको सुरक्षा तथा हितका लागि बीमा, आपत्कालीन सहयोग, ‘क्विक रेस्पोन्स टिम’ र २४ घण्टा कल सेन्टर सञ्चालन गरिरहेको जनाएको छ । ‘पठाओ बेनिफिट प्रोग्राम’मार्फत पेट्रोल खर्चमा सहयोग, निःशुल्क बाइक सर्भिसिङ, मोबाइल डेटा, अस्पताल तथा अन्य सेवामा छुटलगायतका सुविधा दिइरहेको पनि कम्पनीको भनाइ छ ।
पठाओले सरकारले राइड सेयरिङ सेवाका लागि न्यूनतमसँगै अधिकतम भाडादर पनि तोक्नुपर्ने धारणा राखेको छ । न्यूनतम भाडादरले राइडरको आम्दानी सुरक्षित गर्ने र अधिकतम भाडादरले ग्राहकलाई महँगो भाडाबाट जोगाउने कम्पनीको भनाइ छ ।
भाडादरसँगै बीमा, सुरक्षा, दुर्घटना तथा आपत्कालीन सहायता र गुनासो व्यवस्थापनसम्बन्धी मापदण्ड पनि सबै प्लेटफर्ममा समान रूपमा लागू हुनुपर्ने पठाओले जनाएको छ ।
पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले राइडरलाई दिगो आम्दानी, ग्राहकलाई सुरक्षित तथा उचित मूल्यको सेवा र राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित बनाउन साझा नियम आवश्यक रहेको बताएका छन् ।
