वीरगन्ज । वीरगन्ज नाकाबाट विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युतीय मोटरसाइकल र तीनपांग्रे सवारीसाधनको आयात संख्या तथा मूल्य दुवैमा उल्लेख्य वृद्धि भएको हो।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ७० करोड रुपैयाँ बराबरका ५ हजार ३८६ थान विद्युतीय मोटरसाइकल आयात भएका थिए। गत आर्थिक वर्षमा भने १ अर्ब ८२ करोड रुपैयाँ बराबरका १२ हजार ३७७ थान मोटरसाइकल आयात भएका छन्।
एक वर्षमा विद्युतीय मोटरसाइकलको आयात ६ हजार ९९१ थानले बढेको छ। यससँगै आयात संख्या अघिल्लो वर्षको तुलनामा करिब अढाई गुणा पुगेको छ। मूल्यका आधारमा पनि मोटरसाइकलको आयात १ अर्ब १२ करोड रुपैयाँले बढेको देखिन्छ।
विद्युतीय तीनपांग्रे सवारीसाधनको आयात पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा ५३ करोड रुपैयाँ बराबरका ४ हजार ४१७ थान तीनपांग्रे सवारी आयात भएकामा गत आर्थिक वर्षमा ८१ करोड रुपैयाँ बराबरका ६ हजार ५४८ थान आयात भएका छन्।
तीनपांग्रे सवारीको आयात एक वर्षमा २ हजार १३१ थानले बढेको छ। मूल्यका आधारमा भने २८ करोड रुपैयाँले वृद्धि भएको छ।
यसरी वीरगन्ज नाकाबाट गत आर्थिक वर्षमा मात्रै १८ हजार ९२५ थान विद्युतीय दुई तथा तीनपांग्रे सवारीसाधन आयात भएका छन्। अघिल्लो आर्थिक वर्षमा यी दुई वर्गका ९ हजार ८०३ थान सवारी आयात भएका थिए।
संख्याका आधारमा एक वर्षमा विद्युतीय दुई तथा तीनपांग्रे सवारीको आयात करिब ९२ प्रतिशतले बढेको छ। आयात मूल्य पनि अघिल्लो आर्थिक वर्षको १ अर्ब २३ करोड रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीको विकल्पका रूपमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा आयातमा समेत वृद्धि भएको देखिन्छ। विद्युतीय सवारीसाधन आयातको प्रमुख प्रवेशद्वारमध्ये वीरगन्ज नाका रहेकाले यहाँको तथ्यांकले नेपालमा विद्युतीय सवारीको बजार विस्तारको प्रवृत्तिसमेत देखाउँछ।
