एजेन्सी । मेटामाथि अमेरिकामा चलिरहेको कानुनी लडाइँ अब एउटा कम्पनीको विवादमा सीमित नरहने संकेत देखिएको छ । फेसबुक र इन्स्टाग्राममा प्रयोगकर्तालाई लामो समयसम्म अल्झाइराख्ने डिजाइन हटाउन अदालतले आदेश दिए सामाजिक सञ्जालको अहिलेको स्वरूप नै बदलिन सक्छ । अनन्त स्क्रोल, स्वतः चल्ने भिडियो, एल्गोरिदममा आधारित फिड र अन्य लत लाग्ने फिचरमाथि प्रश्न उठेपछि सामाजिक सञ्जाल उद्योग नै दबाबमा परेको छ ।
अमेरिकाका विभिन्न राज्यले मेटाका प्लेटफर्ममा रहेका त्यस्ता डिजाइन हटाउन अदालतमार्फत दबाब बढाइरहेका छन् । उनीहरूको आरोप छ, मेटाले प्रयोगकर्ताको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको छ । विशेषगरी बालबालिकालाई लक्षित गरी प्लेटफर्मको प्रयोग बढाउने र उनीहरूलाई लामो समयसम्म टिकाइराख्ने रणनीति अपनाइएको आरोप राज्य सरकारहरूको छ ।
क्यालिफोर्नियाकी नायब महान्यायाधिवक्ता मेगन ओ’निलले प्रारम्भिक बहसका क्रममा मेटाले १३ वर्षमुनिका प्रयोगकर्ताको वास्तविकता लुकाएको आरोप लगाइन् । उनका अनुसार कम्पनीको व्यापारिक मोडल नै प्रयोगकर्तालाई आकर्षित गर्ने, लामो समय प्लेटफर्ममा राख्ने, उनीहरूको डेटा संकलन गर्ने र त्यसबाट विज्ञापनमार्फत आम्दानी गर्ने संरचनामा आधारित छ ।
यो मुद्दाको प्रभाव मेटामा मात्र सीमित हुने देखिँदैन । फोरेस्टरकी प्रमुख विश्लेषक केट विनिकले यसलाई सामाजिक सञ्जालको अहिलेसम्मको स्वरूपमाथि ठूलो चुनौतीका रूपमा व्याख्या गरेकी छन् । उनका अनुसार मेटाविरुद्धको फैसलाले सामाजिक सञ्जाल उद्योगमै नयाँ कानुनी नजिर बस्न सक्छ ।
विशेषगरी बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई लिएर अमेरिकी राज्यहरू आक्रामक बनेका छन् । सामाजिक सञ्जालका डिजाइनले युवाको व्यवहार र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको आरोप लगाउँदै विभिन्न कम्पनीविरुद्ध मुद्दा अघि बढिरहेका छन् ।
क्यालिफोर्नियाका महान्यायाधिवक्ता रब बोन्टाका अनुसार मेटा मात्रै कानुनी दबाबमा परेको कम्पनी होइन । युट्युब र स्न्यापविरुद्ध पनि यस्तै प्रकृतिका मुद्दा अघि बढिरहेका छन् । उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकालाई सुरक्षित राख्ने विषयमा एउटै मापदण्ड अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।
यसअघि लस एन्जलसमा भएको सामाजिक सञ्जालको लतसम्बन्धी मुद्दामा मेटा र युट्युबलाई लापरवाह ठहर गरिएको थियो । एक युवतीले आफू सानो उमेरमा दुवै प्लेटफर्मको प्रयोगमा लत बसेको र त्यसका कारण गम्भीर शारीरिक छविसम्बन्धी समस्या, डिप्रेसन तथा आत्मघाती सोच आएको दाबी गरेकी थिइन् ।
यस्ता मुद्दाले सामाजिक सञ्जाल कम्पनीहरूको डिजाइन रणनीतिमाथि नै प्रश्न उठाएको छ । अहिलेसम्म प्रयोगकर्तालाई बढी समय प्लेटफर्ममा राख्नु कम्पनीहरूको सफलताको मुख्य आधार मानिन्थ्यो । अनन्त स्क्रोल, स्वतः चल्ने भिडियो र लगातार नयाँ सामग्री देखाउने एल्गोरिदम यही उद्देश्यमा केन्द्रित थिए ।
अब भने यही डिजाइन कम्पनीहरूका लागि कानुनी जोखिम बन्न थालेको छ ।
यदि अदालतले मेटालाई यस्ता फिचर परिवर्तन गर्न बाध्य बनायो भने अन्य कम्पनीले पनि आफ्नो प्लेटफर्ममा समान परिवर्तन गर्नुपर्ने दबाब बढ्नेछ । स्न्यापलगायत युवा प्रयोगकर्ता बढी भएका प्लेटफर्मले सम्भावित कानुनी जोखिमबाट बच्न अदालतको फैसला आउनुअघि नै डिजाइन परिवर्तन गर्न सक्ने विश्लेषण गरिएको छ ।
यसको सीधा असर सामाजिक सञ्जालको प्रयोगमा पर्न सक्छ । विशेषगरी बालबालिका र किशोरकिशोरीलाई लक्षित सुविधा नियन्त्रणमा आए प्लेटफर्ममा नयाँ युवा प्रयोगकर्ता प्रवेश गर्ने दर घट्न सक्छ । लामो समयसम्म स्क्रोल गराउने संरचना कमजोर भएपछि प्रयोगकर्ताले सामाजिक सञ्जालमा बिताउने समय पनि घट्न सक्ने अनुमान छ ।
तर उद्योगका लागि सबैभन्दा ठूलो जोखिम युवा प्रयोगकर्तामा मात्र सीमित नरहन सक्छ । वयस्क प्रयोगकर्ताले पनि सामाजिक सञ्जालका कारण आफूलाई क्षति पुगेको दाबी गर्दै यस्तै कानुनी बाटो रोज्न थाले भने मेटा र समग्र सामाजिक सञ्जाल उद्योगमाथिको दबाब झन् ठूलो हुन सक्छ ।
त्यसैले मेटामाथिको यो मुद्दा केवल फेसबुक र इन्स्टाग्रामको डिजाइन परिवर्तन गर्ने विषय होइन । यसले सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्तालाई कति समय प्लेटफर्ममा राख्न पाउने, बालबालिकाका लागि कस्ता सुविधा उपलब्ध गराउने र प्रयोगकर्ताको ध्यानलाई व्यापारिक वस्तुका रूपमा प्रयोग गर्ने सीमासम्म निर्धारण गर्न सक्छ ।
फैसला मेटाको पक्षमा आयो भने कम्पनीको वर्तमान मोडलले राहत पाउनेछ । तर राज्यहरूको पक्षमा फैसला आयो भने सामाजिक सञ्जाल उद्योगले वर्षौंदेखि अपनाउँदै आएको ‘जति धेरै समय, उति धेरै नाफा’ भन्ने व्यापारिक सोचमै ठूलो धक्का लाग्नेछ । त्यसपछि फेसबुक, इन्स्टाग्राम, युट्युब र स्न्यापजस्ता प्लेटफर्मको स्वरूप आजको जस्तो रहला भन्ने ग्यारेन्टी हुने छैन ।
