काठमाडौं । कमाइ राम्रो भएर मात्रै भविष्य सुरक्षित हुँदैन । कमाएको पैसा कहाँ खर्च गर्ने र कति बचाउने भन्ने बानीले आर्थिक अवस्था निर्धारण गर्छ । महिनाको अन्त्यमा पैसा सकिएर बचत गर्न नसक्ने समस्या छ भने यी सामान्य तर प्रभावकारी सूत्र अपनाउन सकिन्छ ।
तलब आएपछि पहिले बचत
आम्दानी आएपछि खर्च गरेर बाँकी रकम बचत गर्ने होइन, सुरुमा नै निश्चित रकम छुट्याउनुहोस् । बाँकी रकमबाट मात्र मासिक खर्च चलाउने बानी बसाल्नुहोस् ।
सानो रकमबाटै सुरुआत
धेरै पैसा भएपछि मात्रै बचत गर्ने सोच नराख्नुहोस् । आम्दानीअनुसार सानो रकम भए पनि हरेक महिना नियमित बचत गर्नुहोस् । निरन्तरता नै ठूलो बचतको आधार बन्न सक्छ ।
खर्चको हिसाब राख्नुहोस्
पैसा कहाँ गइरहेको छ भन्ने थाहा नभएसम्म बचत गर्न गाह्रो हुन्छ । दैनिक चिया, खाना, यातायात, मनोरञ्जनदेखि ठूला खरिदसम्मको खर्च टिपोट गर्ने बानी बसाल्नुहोस् ।
बचतको लक्ष्य तोक्नुहोस्
भविष्यमा घर, शिक्षा, व्यवसाय, यात्रा वा अवकाशका लागि कति रकम आवश्यक पर्छ भन्ने अनुमान गरेर बचतको लक्ष्य बनाउनुहोस् । लक्ष्य स्पष्ट भएपछि खर्च नियन्त्रण गर्न सजिलो हुन्छ ।
सेलको लोभमा नपर्नुहोस्
छुट पाएको भन्दै आवश्यक नै नभएको सामान किन्नु बचत होइन । सामान किन्नुअघि त्यो साँच्चै आवश्यक हो कि केवल छुट देखेर किन्न लागेको हो भन्ने छुट्याउनुहोस् ।
सापटीमा रहर पूरा नगर्नुहोस्
आफ्नो आम्दानीले नधान्ने सामान ऋण वा सापटी लिएर खरिद गर्ने बानीले भविष्यको बजेट बिगार्न सक्छ । आवश्यकता र हैसियत हेरेर मात्रै खर्च गर्नुहोस् ।
मनोरञ्जनको खर्च सीमित गर्नुहोस्
फिल्म, घुमघाम, रेस्टुराँ वा अन्य मनोरञ्जनका लागि खर्च गर्नु गलत होइन । तर यस्ता खर्चका लागि मासिक बजेट तोकेर त्यसैभित्र सीमित गर्नु राम्रो हुन्छ ।
बचतलाई लगानीमा लैजानुहोस्
आफ्नो जोखिम क्षमता र आर्थिक लक्ष्यअनुसार बचतको केही हिस्सा उपयुक्त वित्तीय साधनमा लगानी गर्ने विकल्प खोज्नुहोस् । सेयर, म्युचुअल फन्डलगायत माध्यम रोज्दा जोखिम बुझेर निर्णय गर्नु आवश्यक हुन्छ ।
फजुल खर्चलाई सीधै काट्नुहोस्
दैनिक हुने साना अनावश्यक खर्चले महिनामा ठूलो रकम खाइदिन सक्छ । आवश्यकता र रहर छुट्याएर खर्च गर्ने बानी बसाल्न सके बचत आफैँ बढ्दै जान्छ ।
