काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीका लागि स्टल निर्माणदेखि प्राविधिक व्यवस्थापनसम्मका काम तीव्र पारिएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार प्रदर्शनीमा अटोमोबाइल ब्रान्डसँगै अटो पार्ट्स, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बिमा कम्पनीको सहभागिता रहनेछ।
यस वर्षको अटो शो नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणसमेत भएकाले आयोजकले प्रदर्शनीलाई विशेष बनाउने तयारी गरेको छ।
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीतर्फ २३, हल्का व्यावसायिक सवारीतर्फ १७ र दुईपांग्रे सवारीतर्फ १३ गरी कुल ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्।
अटो शोमा विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवा प्रदर्शन गरिनेछ। करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण राखिने आयोजकले जनाएको छ।
प्रदर्शनीस्थल भृकुटीमण्डपमा अहिले स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। स्टलसँगै विद्युत् जडान, प्रकाश व्यवस्था, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधार निर्माणको काम पनि अघि बढाइएको छ।
यस वर्षको अर्को आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन रहनेछ। उक्त पभेलियनमा नेपालमै उत्पादन वा एसेम्बल भएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्ट प्रदर्शन गरिनेछ।
नाडाका अनुसार अटो शोले उपभोक्ता र अटोमोबाइल व्यवसायीबीच प्रत्यक्ष सम्पर्कको अवसर मात्रै दिने छैन, वितरक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य सरोकारवालाबीच व्यावसायिक अन्तर्क्रियाको मञ्चसमेत उपलब्ध गराउनेछ।
प्रदर्शनीमार्फत नेपाली बजारमा भित्रिएका नयाँ सवारी, प्रविधि र सेवाबारे उपभोक्ताले प्रत्यक्ष जानकारी लिन सक्नेछन्। साथै, विद्युतीय सवारीको बढ्दो बजार, चार्जिङ पूर्वाधार, अटो पार्ट्स तथा मोबिलिटी क्षेत्रको बदलिँदो स्वरूपबारे समेत प्रदर्शनीले झल्को दिने आयोजकको अपेक्षा छ।
नाडाले यस वर्षको अटो शो लाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख व्यावसायिक मञ्चका रूपमा प्रस्तुत गरेको छ। स्वर्ण जयन्ती वर्षमा आयोजना हुन लागेको प्रदर्शनीमा ब्रान्डको सहभागिता, नयाँ मोडल र विद्युतीय सवारीको उपस्थितिले बजारमा थप चहलपहल ल्याउने अपेक्षा गरिएको छ।
