काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१२ का ३७ वर्षीय नवीन लामा र सल्यानको शारदा नगरपालिका–२ का ५० वर्षीय रमेश रेउले रहेका छन्।
प्रहरीका अनुसार लामाले मलेसिया पठाइदिने भन्दै तीन जनाबाट १४ लाख रुपैयाँ लिएका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए।
त्यस्तै, रेउलेले अमेरिकामा आकर्षक रोजगारी लगाइदिने प्रलोभन देखाएर एक जनाबाट तीन लाख रुपैयाँ लिएको प्रहरीको आरोप छ। रकम लिएपछि उनी पनि सम्पर्कविहीन भएको बताइएको छ।
दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले गत शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले उनीहरूमाथि वैदेशिक रोजगारीका नाममा ठगी गरेको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
