Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एआईपछि रोबोट क्रान्तिमा प्रतिस्पर्धा

अ+ अ-

काठमाडौं: औद्योगिक क्रान्तिले मानिसको हातलाई मेसिनसँग जोड्यो। डिजिटल क्रान्तिले मानिसको कामलाई कम्प्युटरसँग जोड्यो। अब अर्को परिवर्तनले मेसिनलाई मानिसजस्तै देख्ने, बुझ्ने, सिक्ने र काम गर्ने क्षमतातर्फ धकेलिरहेको छ।

यो परिवर्तनको सबैभन्दा दृश्य प्रतीक हुन्–ह्युमनोइड रोबोट। मानिसको आकारमा बनेका यी मेसिन अहिले विज्ञानकथाका पात्र मात्र रहेनन्। कारखाना, गोदाम, अस्पताल, होटल, घर र भविष्यमा युद्धक्षेत्रसम्म पुग्ने सम्भावनाले रोबोटिक्सलाई औद्योगिक प्रविधिको अर्को ठूलो सीमामा पुर्‍याएको छ।

यस दौडमा दुई विश्व महाशक्ति अमेरिका र चीन सबैभन्दा अगाडि देखिन्छन्। अमेरिका अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर, ठूला मोडल र नयाँ प्रविधिको आविष्कारमा बलियो छ। चीन भने ठूलो उत्पादन क्षमता, सस्तो कम्पोनेन्ट, आपूर्ति शृंखला, सरकारी समन्वय र नयाँ प्रविधिलाई ठूलो परिमाणमा बजारमा उतार्ने क्षमतामा अगाडि छ।

त्यसैले आगामी दशकको प्रश्न केवल ‘कसले राम्रो रोबोट बनाउँछ?’ भन्ने होइन। प्रश्न अझ ठूलो छ–कसले रोबोटको अर्थतन्त्र बनाउँछ?

एआईपछि रोबोटिक्स विश्व प्रविधिको केन्द्र

पछिल्ला वर्षमा एआई विश्व प्रविधिको केन्द्र बनेको छ। तर एआई आफैंमा भौतिक उत्पादन होइन। यसले सोच्न, विश्लेषण गर्न, भविष्यवाणी गर्न र निर्णय गर्न सक्छ। रोबोटले त्यसैलाई भौतिक संसारमा कार्यान्वयन गर्न सक्छ। यही कारण एआई र रोबोटिक्सको मिलनलाई अर्को ठूलो औद्योगिक परिवर्तनको आधार मानिएको छ।

एआईले रोबोटलाई केवल पूर्वनिर्धारित निर्देशन पालना गर्ने मेसिनबाट सिक्ने र वातावरणअनुसार निर्णय गर्ने प्रणालीमा बदल्दैछ। क्यामेरा, सेन्सर, मोटर, ब्याट्री, चिप, क्लाउड कम्प्युटिङ र ठूलो एआई मोडल एकै प्रणालीमा जोडिँदा रोबोटले मानिससँग काम गर्न सक्ने सम्भावना बढ्दै गएको छ।

अमेरिका र चीनबीचको प्रतिस्पर्धाको मूल अन्तर पनि यहीँ देखिन्छ। अमेरिकी प्रविधि इकोसिस्टम तुलनात्मक रूपमा विकेन्द्रित, निजी क्षेत्रमुखी र नयाँ प्रविधिमा ‘ब्रेकथ्रु’ खोज्ने प्रकृतिको छ। चीनको मोडल भने राज्यद्वारा निर्देशित, दीर्घकालीन औद्योगिक नीति र ठूलो परिमाणमा उत्पादन तथा प्रयोगमा केन्द्रित छ।

दुवै देशले एआई र रोबोटिक्सलाई भविष्यको आर्थिक तथा रणनीतिक शक्तिको आधार मानेका छन्। त्यसैले यो प्रतिस्पर्धा केवल कम्पनीबीचको प्रतिस्पर्धा होइन; यो औद्योगिक नीति, पूँजी, आपूर्ति शृंखला, डेटा, ऊर्जा, सुरक्षा र राष्ट्रिय शक्तिको प्रतिस्पर्धासमेत हो।

चौथो औद्योगिक क्रान्तिको मेसिन

मानव इतिहासमा औद्योगिक परिवर्तनका चार ठूला चरण देखिन्छन्। अठारौँ शताब्दीको अन्त्यतिर बेलायतबाट सुरु भएको पहिलो औद्योगिक क्रान्तिले वाष्प इन्जिनमार्फत हातले हुने उत्पादनलाई मेसिनमा सार्‍यो। कपडा र खानी उद्योग विस्तार भए, रेल र वाष्पजहाजले यातायातको स्वरूप परिवर्तन गरे।

उन्नाइसौँ शताब्दीको अन्त्यदेखि बीसौँ शताब्दीको सुरुवातसम्म फैलिएको दोस्रो औद्योगिक क्रान्तिले बिजुली, ग्यास र तेललाई उत्पादनको केन्द्रमा ल्यायो। ठूलो परिमाणको उत्पादन सम्भव भयो। मोटरगाडी, विमान, टेलिफोन र आधुनिक औद्योगिक संगठन जन्मिए।

सन् १९६० को दशकपछि तेस्रो औद्योगिक क्रान्ति अर्थात् डिजिटल क्रान्तिले मेकानिकल र एनालग प्रविधिलाई डिजिटल इलेक्ट्रोनिक्सले विस्थापित गर्न थाल्यो। ट्रान्जिस्टर, माइक्रोप्रोसेसर, कम्प्युटर र अन्ततः इन्टरनेटले विश्वलाई जोड्यो। कारखानाको स्वचालन बढ्दै जाँदा श्रमको ठूलो हिस्सा सेवा र ज्ञानमा आधारित क्षेत्रमा सर्‍यो।

अहिले हामी चौथो औद्योगिक क्रान्तिको चरणमा छौँ। यसमा भौतिक, डिजिटल र जैविक संसारबीचको सीमा क्रमशः मेटिँदैछ। एआई, रोबोटिक्स, थ्रीडी प्रिन्टिङ, बायोटेक्नोलोजी र इन्टरनेट अफ थिङ्स (आईओटी) यसको आधार हुन्।

तर यो परिवर्तनको सबैभन्दा शक्तिशाली प्रतीक ह्युमनोइड रोबोट बन्न सक्छ। किनकि संसार मानिसको शरीरअनुकूल बनाइएको छ। ढोका, सिँढी, औजार, कारखानाका उपकरण, गोदामका संरचना र घरका अधिकांश काम मानिसको आकार र चाललाई ध्यानमा राखेर डिजाइन गरिएका छन्।

यदि रोबोटले मानिसले प्रयोग गर्ने त्यही वातावरणमा काम गर्न सक्छ भने नयाँ पूर्वाधार निर्माण नगरी स्वचालनको दायरा विस्तार गर्न सकिन्छ। त्यसैले ह्युमनोइडको आकर्षण केवल प्रविधिको प्रदर्शन होइन। यसको पछाडि विशाल आर्थिक सम्भावना छ।

‘डार्क फ्याक्ट्री’को उदय

रोबोट क्रान्तिको सबैभन्दा गहिरो प्रभाव ह्युमनोइडको घरायसी प्रयोगभन्दा पहिले उद्योगमा देखिन सक्छ। पूर्ण स्वचालित कारखाना–जहाँ मानिसको प्रत्यक्ष श्रम अत्यन्त न्यून हुन्छ–लाई प्रायः ‘डार्क फ्याक्ट्री’ भनिन्छ।

यस्तो कारखानामा मेसिनले उत्पादन, निरीक्षण, सामग्री व्यवस्थापन र अन्य प्रक्रियालाई निरन्तर सञ्चालन गर्न सक्छ। चीनको चोङछिङस्थित चाङआन अटोमोबाइलको डिजिटल इन्टेलिजेन्स फ्याक्ट्री यस परिवर्तनको प्रारम्भिक उदाहरणमध्ये एक हो। सन् २०२४ मा खुलेको उक्त कारखानामा दुई हजारभन्दा बढी रोबोटले समन्वय गरेर उत्पादन गर्छन् र करिब २० प्रतिशतसम्म उत्पादन लागत बचत गर्ने क्षमता देखाइएको छ।

यस्तो कारखानाले औद्योगिक अर्थशास्त्रको पुरानो समीकरण बदल्न सक्छ। परम्परागत उत्पादनमा श्रम लागत महत्वपूर्ण हुन्छ। तर अत्यधिक स्वचालित उत्पादनमा श्रमभन्दा पूँजी, पूर्वाधार, ऊर्जा, चिप, सफ्टवेयर र रोबोटको लागत महत्वपूर्ण हुन्छ।

यसले विकासको पुरानो बाटोमाथि प्रश्न उठाउँछ। पहिले विकासशील देशले सस्तो श्रम प्रयोग गरेर कपडा, जुत्ता, इलेक्ट्रोनिक्सजस्ता श्रमप्रधान उद्योगमा प्रतिस्पर्धा गर्न सक्थे। यही प्रक्रियाबाट धेरै एसियाली अर्थतन्त्र औद्योगिक शक्ति बने।

तर यदि रोबोटले सस्तो श्रमको ठाउँ लिन थाले भने त्यो बाटो कठिन हुन सक्छ। सस्तो श्रमको प्रतिस्पर्धात्मक लाभको ठाउँमा सस्तो रोबोट, सस्तो ऊर्जा र ठूलो पूँजी प्रतिस्पर्धाको आधार बन्न सक्छ।

यसले पहिलो चरणमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया र पश्चिमी युरोपजस्ता औद्योगिक तथा प्रविधि सम्पन्न अर्थतन्त्रलाई फाइदा पुर्‍याउन सक्छ। प्रश्न त्यसैले गम्भीर छ–यदि कारखानामा मानिसको श्रम नै कम आवश्यक भयो भने विकासशील देशले औद्योगिकीकरण गर्ने नयाँ बाटो के हुनेछ?

चीनको ‘रोबोट ओलम्पिक’

चीनले रोबोटिक्सलाई रणनीतिक उद्योगका रूपमा विकास गर्ने प्रयास एक दशकभन्दा लामो समयदेखि गरिरहेको छ। सन् २०१५ मा बेइजिङले विश्व रोबोट सम्मेलन आयोजना गर्दा रोबोटिक्स राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित हुँदै थियो। त्यसअघि नै राष्ट्रपति सी चिनफिङले रोबोटिक्सलाई उन्नत उत्पादनको ‘क्राउन ज्वेल’ का रूपमा प्रस्तुत गरेका थिए।

त्यसयता चीनका रोबोट प्रतियोगिता र प्रदर्शनीहरू विज्ञानका विद्यार्थीको प्रयोगशालाबाट राष्ट्रिय प्रविधि प्रदर्शनमा बदलिएका छन्। सुरुमा साना पाङ्ग्रे रोबोटले प्रोग्राम गरिएको फुटबल खेल्थे। पछि ब्याडमिन्टन खेल्ने रोबोट आए। त्यसपछि रोबोट कुकुर, औद्योगिक रोबोट र अन्ततः ह्युमनोइड रोबोटले प्रदर्शनीको केन्द्र कब्जा गरे।

सन् २०२३ सम्म आइपुग्दा साओमीको साइबरडग जस्ता रोबोटले चीनको अर्को प्रतिस्पर्धात्मक शक्ति देखाए–मूल्य। साइबरडग करिब १,५०० डलरमा बजारमा आएको थियो। त्यसको तुलनामा अमेरिकी कम्पनी बोस्टन डाइनामिक्सको चारखुट्टे स्पट रोबोटको मूल्य ७५ हजार डलरभन्दा बढी थियो।

मूल्य अन्तरले चीनको उत्पादन इकोसिस्टमको एउटा महत्त्वपूर्ण पक्ष देखाउँछ। चीन केवल रोबोट बनाउने देश होइन; मोटर, ब्याट्री, सेन्सर, इलेक्ट्रोनिक्स, मेसिनरी र अन्य कम्पोनेन्ट ठूलो परिमाणमा उत्पादन गर्ने औद्योगिक आधार भएको देश हो। रोबोटिक्समा यही आपूर्ति शृंखला निर्णायक बन्न सक्छ।

एक वर्षमै ‘ठेस’ बाट दौडसम्म

सन् २०२५ मा बेइजिङमा विश्वकै पहिलो रोबोट हाफ-म्याराथन आयोजना हुँदा ह्युमनोइड रोबोटको अवस्था अझै हास्यास्पद देखिन्थ्यो। रोबोटहरू मानिससँगै दौडन थाले। इन्जिनियरहरू मेसिनसँगै दौडेर आवश्यक पर्दा हस्तक्षेप गर्न तयार थिए।

केही रोबोट सुरुवाती लाइनमै ढले। केही केही मिटरमै बारमा ठोक्किए। सुरु गरेका सबै रोबोटले दौड पूरा गर्न सकेनन्।

तर एक वर्षपछि दृश्य फेरियो। २०२६ को दोस्रो बेइजिङ हाफ-म्याराथनमा एक सयभन्दा बढी रोबोट टोली सहभागी भए र सरकारी सञ्चारमाध्यमका अनुसार ४७ टोलीले दौड पूरा गरे।

अनरको ‘फ्ल्यास’ नामक ह्युमनोइडले मानव हस्तक्षेपबिना हाफ-म्याराथन ५० मिनेट २६ सेकेन्डमा पूरा गरेको दाबी सार्वजनिक भयो। यो केही समयअघि बनेको मानव विश्व कीर्तिमानभन्दा करिब सात मिनेट छिटो थियो।

यस्तो प्रदर्शनले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ–रोबोट मानिसजस्तो दौडन सक्छ कि सक्दैन भन्ने होइन। उसले वास्तविक संसारमा मानिसले गर्ने उपयोगी काम कति चाँडो गर्न सक्छ?

त्यसैले २०२६ को विश्व ह्युमनोइड रोबोट खेलकुद प्रतियोगितामा प्रतिस्पर्धाको केन्द्र दौडबाट हाततर्फ सर्दैछ। स्क्रु कस्ने, बोतल खोल्ने, चिम्टीले साना वस्तु उठाउनेजस्ता सूक्ष्म काममा रोबोटको गति र शुद्धता परीक्षण हुँदैछ।

रोबोटको हात बनाउनु ह्युमनोइड विकासको सबैभन्दा कठिन भागमध्ये एक मानिन्छ। मानिसको हातमा शक्ति मात्र होइन, स्पर्श, दबाब, सन्तुलन र सूक्ष्म नियन्त्रण हुन्छ। त्यही क्षमता मेसिनमा उतार्नु भनेको वास्तविक संसारमा काम गर्न सक्ने रोबोटतर्फको ठूलो छलाङ हो।

चीनको ठूलो बाजी

चीनको वर्तमान अग्रता संयोग होइन। रोबोटिक्सलाई राष्ट्रिय रणनीतिमा समेटिएको छ। पाँचवर्षीय योजनामा अनुदान, अनुसन्धान कर छुट, वित्तीय सहयोग र औद्योगिक विकासलाई जोड दिइएको छ।

चीनको २०२१ को रोबोटिक्ससम्बन्धी पाँचवर्षीय योजनाले चीनलाई रोबोटिक्स प्रविधिको विश्वव्यापी नवप्रवर्तन केन्द्र बनाउने लक्ष्य राखेको थियो।

अझ महत्वपूर्ण कुरा, ‘embodied intelligence’ अर्थात् भौतिक संसारमा एआईलाई कार्यान्वयन गर्ने बुद्धिमत्तालाई चीनले भविष्यका उद्योगको रणनीतिक स्तम्भका रूपमा अघि सारेको छ।

२०२५ मा प्रस्तावित १५औँ पाँचवर्षीय योजनामा embodied intelligence लाई पहिलोपटक मध्यम तथा दीर्घकालीन औद्योगिक रोडम्यापमा समेटियो। २०२६ को रूपरेखाले यसलाई नयाँ आर्थिक वृद्धिको चालकका रूपमा पहिचान गरेको छ।

यसले चीनको रणनीति स्पष्ट गर्छ–एआईलाई केवल कम्प्युटरभित्र नराख्ने, त्यसलाई कारखाना र भौतिक संसारमा उतार्ने।

२०२६ को पहिलो आधामा विश्वव्यापी ह्युमनोइड रोबोट ढुवानी करिब १९,१०० युनिट पुगेको र वार्षिक आधारमा करिब चार गुणा बढेको बजार अनुसन्धान तथ्यांकले देखाएको छ। तीमध्ये ९७ प्रतिशतभन्दा बढी चिनियाँ उत्पादकले आपूर्ति गरेको दाबी गरिएको छ।

चीनको उद्योग मन्त्रालयले जुलाईमा यस वर्ष ह्युमनोइड रोबोटको उत्पादन एक लाख युनिटभन्दा बढी पुग्ने अपेक्षा गरेको जनाएको थियो।

संख्या आफैंमा महत्वपूर्ण छ। तर अझ महत्वपूर्ण कुरा हो–डिप्लोयमेन्ट। रोबोट जति धेरै वास्तविक कारखाना, गोदाम वा सेवा क्षेत्रमा पुग्छ, उसले त्यति धेरै वास्तविक डेटा संकलन गर्छ। त्यो डेटा अर्को पुस्ताको एआई मोडललाई अझ राम्रो बनाउन प्रयोग हुन्छ।

यसले चीनलाई एउटा ‘फिडब्याक लुप’ दिन्छ।

धेरै रोबोट उत्पादन → धेरै रोबोट प्रयोग → धेरै वास्तविक डेटा → राम्रो एआई → राम्रो रोबोट → अझ धेरै प्रयोग।

यही चक्र चीनको ठूलो रणनीतिक लाभ बन्न सक्छ।

अमेरिकाको फरक शक्ति

चीन अगाडि देखिनु भनेको अमेरिका दौडबाट बाहिरिएको अर्थ होइन। अमेरिकाको शक्ति अर्को ठाउँमा छ–एआई र सफ्टवेयर।

ठूला एआई मोडल, उन्नत कम्प्युटिङ, चिप डिजाइन, क्लाउड पूर्वाधार, सफ्टवेयर र उद्यम पूँजीमा अमेरिकी इकोसिस्टम अझै शक्तिशाली छ।

रोबोटको शरीर चीनले ठूलो परिमाणमा बनाउन सक्छ। तर त्यस शरीरलाई संसार बुझ्ने, निर्णय गर्ने र बदलिँदो परिस्थितिमा अनुकूल हुने ‘दिमाग’ आवश्यक पर्छ। त्यहाँ अमेरिकी कम्पनी र अनुसन्धान संस्थाको शक्ति महत्वपूर्ण हुन्छ।

अमेरिकामा अहिलेसम्म चीनजस्तो स्पष्ट राष्ट्रिय रोबोटिक्स रणनीति नभएको भए पनि नीति निर्माताले रोबोटिक्सलाई रणनीतिक प्रविधिका रूपमा हेर्न थालेका छन्।

अमेरिकास्थित एसोसिएसन फर एड्भान्सिङ अटोमेसनका अध्यक्ष जेफ बर्नस्टिनले चीन अहिले रोबोटिक्समा अगाडि रहेको स्वीकार गर्दै उत्तर अमेरिका पछि फर्किन सक्ने बताएका छन्। उनका अनुसार चीनको हार्डवेयर, उत्पादन र कम्पोनेन्ट आपूर्तिमा स्पष्ट लाभ छ भने अमेरिकासँग एआई र सफ्टवेयरमा बलियो आधार छ।

त्यसैले यो दौड समाप्त भइसकेको छैन। वास्तवमा निर्णायक चरण अझ सुरु हुन बाँकी छ।

ज्ञानकर्मीपछि श्रमिक?

एआईको पहिलो प्रभाव ज्ञानमा आधारित काममा देखिँदैछ। सफ्टवेयर विकास, वित्त, कानुन, परामर्श र मिडिया उत्पादनमा एजेन्टिक एआईले मानिसले गर्ने कामको केही हिस्सा सम्हाल्न थालेको छ।

अब त्यसको भौतिक संस्करण रोबोटिक्स हुन सक्छ। यदि एआईले ‘सोच्ने’ कामको केही हिस्सा लिएर रोबोटले ‘गर्ने’ कामको ठूलो हिस्सा लिन थाल्यो भने विश्व श्रम बजारमा दोहोरो परिवर्तन हुनेछ।

कारखानामा भारी काम, निर्माणमा जोखिमपूर्ण काम, खानीमा खतरनाक काम र गोदाममा दोहोरिने कामबाट मानिस हट्न सक्छ। दीर्घकालमा घरमै खाना पकाउने, सरसफाइ गर्ने, सामान ल्याउनेजस्ता कामसमेत रोबोटले गर्न सक्ने कल्पना गरिएको छ।

तर त्यो पूर्ण एन्ड्रोइड घरायसी सहायक अझै टाढा छ। आजका ह्युमनोइडहरू नियन्त्रित वातावरणमा सीमित काम गर्न बढी उपयुक्त छन्।

वास्तविक घरको अव्यवस्थित वातावरण, बच्चा, पाल्तु जनावर, सिँढी, पानी, फर्निचर र अनिश्चित परिस्थितिमा सुरक्षित रूपमा काम गर्न सक्ने रोबोट बनाउनु अझै कठिन छ।

तर प्रविधिको दिशा स्पष्ट छ। प्रोटोटाइपबाट उत्पादन, उत्पादनबाट प्रयोग र प्रयोगबाट सिकाइ। यही क्रम तीव्र हुँदैछ।

विकासशील देशका लागि नयाँ चुनौती

रोबोट क्रान्तिको सबैभन्दा कम चर्चा गरिएको पक्ष यसको भू-अर्थशास्त्र हो। यदि उत्पादनको लागत निर्धारणमा श्रमको भूमिका घट्दै गयो भने ठूलो जनसंख्या र सस्तो श्रम भएको देशको पुरानो प्रतिस्पर्धात्मक लाभ कमजोर हुन सक्छ।

नेपालजस्ता विकासशील अर्थतन्त्रका लागि यो विशेष महत्त्वको विषय हो। आज औद्योगिकीकरणको एउटा परम्परागत बाटो सस्तो श्रम, निर्यातमुखी उत्पादन र क्रमशः पूँजी तथा प्रविधि वृद्धि हो।

तर भविष्यमा उत्पादनको लागत श्रमभन्दा रोबोट, ऊर्जा, चिप, डेटा र पूँजीले निर्धारण गर्न थाले भने यो विकास मोडल फेरिन सक्छ।

त्यसैले रोबोट क्रान्ति केवल अमेरिका र चीनको प्रविधि प्रतिस्पर्धा होइन। यसले विश्व अर्थतन्त्रमा देशहरूको स्थानसमेत पुनःनिर्धारण गर्न सक्छ।

पहिलो चरणमा रोबोट उत्पादन गर्ने केही देशले ठूलो लाभ लिन सक्छन्। दोस्रो चरणमा ती देशका कारखानाले अत्यन्त कम श्रम लागतमा उत्पादन गर्न सक्छन्। तेस्रो चरणमा त्यही उत्पादन विश्व बजारमा निर्यात हुँदा अन्य देशका उद्योगमाथि दबाब पर्न सक्छ।

यसले ‘पहिलो अघि बढ्ने’ देशलाई असाधारण लाभ दिन सक्छ।

साइबर सुरक्षा र नयाँ व्यापारिक पर्खाल

ह्युमनोइड रोबोट केवल मेसिन होइन। यो हार्डवेयर, सफ्टवेयर, एआई, डेटा र नेटवर्कको संयुक्त प्रणाली हो। त्यसैले यसको जोखिम पनि परम्परागत मेसिनभन्दा फरक हुन्छ।

कुनै देशले अर्को देशबाट रोबोट आयात गर्दा प्रश्न उठ्न सक्छ–त्यो रोबोटले कुन डेटा संकलन गर्छ? डेटा कहाँ जान्छ? सफ्टवेयर कसले नियन्त्रण गर्छ? सुरक्षा कमजोरी भयो भने कसले जिम्मेवारी लिन्छ?

घरभित्र वा कारखानामा काम गर्ने रोबोटलाई साइबर आक्रमण गरियो भने त्यसको असर कम्प्युटरमा मात्र सीमित हुँदैन। त्यो भौतिक संसारमा क्षति पुर्‍याउन सक्छ।

यसले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशहरूलाई केही रोबोट तथा एआई प्रणालीमा आयात प्रतिबन्ध लगाउन प्रेरित गर्न सक्छ। यसरी भविष्यको व्यापारमा ट्यारिफ मात्र होइन, डेटा, सफ्टवेयर र सुरक्षा मापदण्ड पनि व्यापारिक पर्खाल बन्न सक्छन्।

तर अत्यधिक सुरक्षा पर्खालले अर्को जोखिम पनि ल्याउँछ। आफ्नै बजारलाई विदेशी प्रविधिबाट बन्द गर्दा कुनै देश केही समय सुरक्षित देखिए पनि विश्वको सबैभन्दा उन्नत प्रविधिबाट पछि पर्न सक्छ।

रोबोटिक्समा गति नै प्रतिस्पर्धाको मुख्य आधार भएकाले यस्तो जोखिम अझ ठूलो हुनेछ।

युद्धको स्वरूप बदलिँदै

रोबोट क्रान्तिको सबैभन्दा गम्भीर परिणाम सैन्य क्षेत्रमा देखिन सक्छ। स्वायत्त वा अर्धस्वायत्त प्रणालीले युद्धमा मानिसको प्रत्यक्ष जोखिम घटाउन सक्छ।

भविष्यमा मानिसलाई जोखिमपूर्ण स्थानमा पठाउनुको सट्टा रोबोट पठाउन सकिन्छ। जमिन, हावा र समुद्रमा स्वायत्त प्रणालीको प्रयोग बढ्दै जाँदा युद्धको लागत र राजनीतिक जोखिमको समीकरण बदलिन सक्छ।

जसको हातमा एम्बोडिड इन्टेलिजेन्सको अग्रता हुनेछ, उसले सैन्य क्षेत्रमा समेत रणनीतिक लाभ पाउन सक्छ।

त्यसैले रोबोटिक्सको प्रतिस्पर्धा अन्ततः औद्योगिक प्रतिस्पर्धा मात्र रहने छैन। यो आर्थिक, प्राविधिक र भू–राजनीतिक शक्तिको प्रश्न बन्न सक्छ।

सहयोगको ठाउँ प्रतिस्पर्धा

प्रतिस्पर्धा तीव्र भए पनि सबै कुरा प्रतिस्पर्धाबाट मात्र समाधान हुँदैन। रोबोट मानिससँग काम गर्ने भएपछि साझा सुरक्षा मापदण्ड आवश्यक हुन्छ।

कुन स्तरको स्वायत्तता सुरक्षित मान्ने? रोबोटले गल्ती गर्दा जिम्मेवार को हुने? डेटा कसरी सुरक्षित गर्ने? मानिससँग काम गर्दा न्यूनतम सुरक्षा दूरी र आपत्कालीन प्रणाली कस्तो हुने?

यी प्रश्नको उत्तर देशअनुसार फरक भयो भने विश्वव्यापी रोबोट बजार विस्तार कठिन हुन सक्छ। त्यसैले अमेरिका र चीनबीच प्रतिस्पर्धाका बाबजुद सुरक्षा मापदण्ड, परीक्षण प्रक्रिया र प्राविधिक नियममा सहकार्यको सम्भावना रहन्छ।

२०२६ को वर्ल्ड रोबोट कन्फरेन्समा १९ देखि २३ अगस्टसम्म बेइजिङमा तीन सयभन्दा बढी कम्पनीले दुई हजारभन्दा बढी प्रदर्शनी राखेका र १५० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक गरेको बताइएको छ।

यसले एउटा कुरा देखाउँछ–रोबोटिक्स अब भविष्यको प्रयोगशालामा सीमित उद्योग होइन। यो आजकै औद्योगिक बजार बनिरहेको छ।

शताब्दीको दौड

रोबोट क्रान्तिको नेतृत्व कसले गर्छ भन्ने उत्तर अहिले स्पष्ट छैन। चीनसँग उत्पादनको मात्रा, आपूर्ति शृंखला, कम्पोनेन्ट र राज्यको दीर्घकालीन औद्योगिक रणनीति छ।

अमेरिकासँग एआई, सफ्टवेयर, अनुसन्धान, कम्प्युटिङ र उद्यमशील नवप्रवर्तनको गहिरो आधार छ। युरोप, जापान र दक्षिण कोरियासँग पनि औद्योगिक स्वचालन, रोबोटिक्स, इलेक्ट्रोनिक्स र उत्पादनमा महत्वपूर्ण क्षमता छ।

त्यसैले यो दुई देशको मात्र दौड होइन। तर अमेरिका र चीन यसको केन्द्रमा छन्।

अझ महत्वपूर्ण कुरा, विजेता कुनै एउटा कम्पनी वा देश मात्र नहुन सक्छ। भविष्यमा रोबोटको उत्पादन नेटवर्क धेरै देशमा फैलिन सक्छ–कुनै देशले चिप बनाउने, अर्कोले मोटर, अर्कोले ब्याट्री, अर्कोले सफ्टवेयर र अर्कोले अन्तिम रोबोट उत्पादन गर्ने।

तर भू–राजनीतिक विभाजन गहिरिँदै गयो भने अलग–अलग प्रविधि इकोसिस्टम र आपूर्ति शृंखला पनि बन्न सक्छन्। त्यस अवस्थामा रोबोटिक्सको प्रश्न ‘कसले उत्कृष्ट रोबोट बनायो?’ भन्दा ठूलो हुनेछ।

कसले सस्तोमा बनायो? कसले धेरै बनायो? कसले धेरै प्रयोग गर्‍यो? कसले धेरै डेटा पायो? कसले राम्रो एआई बनाएर त्यसलाई शरीर दियो? र अन्ततः कसले विश्व उत्पादनको लागत संरचना बदल्यो?

औद्योगिक क्रान्तिका अघिल्ला चरणमा जसले नयाँ प्रविधिलाई ठूलो परिमाणमा प्रयोग गर्न सक्यो, उसले आर्थिक शक्ति प्राप्त गर्‍यो। रोबोट क्रान्तिमा पनि त्यही नियम दोहोरिन सक्छ।

फरक यति हो–यसपटक मेसिनले मानिसको मांसपेशी मात्र होइन, केही हदसम्म उसको निर्णय क्षमतासमेत अनुकरण गर्दैछ।

रोबोटिक्सको दौड एउटा नयाँ औद्योगिक प्रतिस्पर्धाको सुरुवात मात्र होइन। यो विश्व अर्थतन्त्रको कमाण्डिङ हाइट्स कसको हातमा जाने भन्ने प्रतिस्पर्धा हो।

आज चीनले रोबोटको शरीर ठूलो परिमाणमा बनाइरहेको छ। अमेरिका त्यसलाई अझ बुद्धिमान बनाउने एआईको दिमागमा बलियो छ। भोलि यी दुई शक्ति एउटै प्रणालीमा जोडिन सक्छन्–वा उनीहरूबीचको प्रतिस्पर्धाले विश्वलाई दुई अलग प्रविधि इकोसिस्टममा विभाजित गर्न सक्छ।

जुन बाटो रोजिए पनि एउटा कुरा लगभग निश्चित छ। एआईले डिजिटल संसार बदल्दैछ। रोबोटले त्यस परिवर्तनलाई भौतिक संसारमा पुर्‍याउँदैछ।

प्रश्न केवल प्रविधि कसले बनायो भन्ने रहने छैन। प्रश्न हुनेछ–भविष्यको उत्पादन कसले नियन्त्रण गर्छ?

2