नवलपरासी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग गर्ने भएका छन्।
भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन्। मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीका अनुसार पालिका र जनप्रतिनिधिको तर्फबाट रु १५ लाख सहयोग गर्ने निर्णय गरिएको छ।
नेपाल सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिन मध्यविन्दु नगरपालिका प्रतिबद्ध रहेको अधिकारीले बताए।
मध्यविन्दु नगर कार्यपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट रु पाँच लाख, जनप्रतिनिधिको तर्फबाट रु चार लाख तथा कर्मचारीको तर्फबाट रु छ लाख गरी जम्मा रु १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ।
अधिकारीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्न सम्पूर्ण मध्यविन्दु नगरवासीमा अपिल गरेका छन्।
त्यसैगरी, देवचुली नगरपालिकाले रु आठ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिए। नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको तर्फबाट रु चार लाख तथा जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु चार लाख गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु आठ लाख सहयोग गर्ने निर्णय गरिएको छ।
त्यसैगरी भोटेकोशी बाढीबाट प्रभावितको लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु १५ लाख सहयोग गर्ने भएको छ।
सहारा नेपाल (साकोस) ले विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ लाख सहयोग गर्ने आज निर्णय गरेको हो।
साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार ‘मेरो गौरव, मेरो सहारा, सबैका लागि सधैँका लागि’ भन्ने नारासहित सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो।
