काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले हालसम्म ७ हजार ५१४ जनाको उद्धार गरिएको जनाएको छ।
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा जारी उद्धार, राहत तथा पुनःस्थापनाका कामको एकीकृत प्रगति विवरण सार्वजनिक गर्दै राहत कोषमा ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी जम्मा भएको जानकारी दिएका छन्।
भदौ १० गते आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएको थियो। प्रधानमन्त्री शाहका अनुसार प्रभावित नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकतामा राखेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र परिचालन गरिएको छ।
प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाबीच हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये विभिन्न जलविद्युत् आयोजनामा फसेका २७९ जना मजदुर तथा कर्मचारी पनि छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन्।
खोजी तथा उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ वटा हेलिकप्टरले हालसम्म २३६ वटा उडान गरेका छन्। नेपाली सेनासँगको समन्वयमा भारतीय र चिनियाँ विज्ञ टोलीसमेत उद्धार कार्यमा संलग्न रहेको सरकारले जनाएको छ।
गम्भीर घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको छ भने रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। घाइते तथा उनीहरूका परिवारका लागि मनोपरामर्श सेवा पनि सञ्चालनमा ल्याइएको छ।
बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा तीन र नुवाकोटमा १५ वटा राहत शिविर स्थापना गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट पाँच जिल्लाका १५ स्थानीय तहमा ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
प्रधानमन्त्री शाहका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा हालसम्म ५ अर्ब ४ करोड ४६ लाख रुपैयाँभन्दा बढी तथा थप १८ लाख ८ हजार अमेरिकी डलर जम्मा भएको छ। राहत रकम संकलनका नाममा हुन सक्ने वित्तीय ठगीबाट बच्न सरकारले तोकेको आधिकारिक क्यूआर कोड तथा बैंक खातामार्फत मात्र सहयोग गर्न उनले आग्रह गरेका छन्।
अन्तर्राष्ट्रिय सहयोगअन्तर्गत एशियाली विकास बैंकबाट ५ मिलियन डलर अनुदान र १ लाख ५० हजार डलर प्राविधिक सहायता तथा विश्व बैंकबाट १६७ मिलियन डलर सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता आएको सरकारले जनाएको छ। अमेरिकाले ५ लाख डलर र अष्ट्रेलियाले १ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
भारतबाट ५७.५ टन मानवीय सहायता सामग्री, औषधि तथा २ हजार शव व्यवस्थापनका लागि एयरटाइट ब्याग प्राप्त भएको छ। चीनबाट थप २ हजार एयरटाइट ब्याग प्राप्त भएको र ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको सरकारले जनाएको छ।
पूर्वाधारतर्फ काठमाडौं–टोखा–छहरे–कालिकास्थान–धुन्चे वैकल्पिक सडकखण्ड मर्मत गरी साना चारपाङ्ग्रे सवारी सञ्चालनमा ल्याइएको छ। यससँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। पृथ्वी राजमार्ग र धादिङबेसी जोड्ने सडक पनि सञ्चालनमा आएको सरकारले जनाएको छ।
बाढीबाट अवरुद्ध नेपाल टेलिकमका ९० र एनसेलका ७१ वटा टावरमा इन्धन तथा सोलार प्यानल पुर्याएर सेवा पुनः सञ्चालनमा ल्याइएको छ।
