काठमाडौँ। नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्री ढुवानीमा लाग्ने आफ्ना सम्पूर्ण शुल्क एक महिनाका लागि छुट गर्ने भएको छ।
निगमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनबाट नेपाल पठाइने राहत सामग्रीमा लाग्ने निगमसँग सम्बन्धित सम्पूर्ण शुल्क पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो।
सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानीमा शुल्क छुट दिइने निगमले जनाएको छ।
विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन गरिएको उक्त निर्णयले विभिन्न मुलुक तथा संघ संस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म शीघ्र पुर्याउन सहयोग पुग्ने निगमको विश्वास छ।
