काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाल्यकाल बितेको न्युयोर्कस्थित घर झन्डै २० लाख डलरमा बिक्री भएको छ।
क्विन्स क्षेत्रमा रहेको उक्त ट्युडर शैलीको घरलाई पुनर्निर्माण गरी १९ लाख ३० हजार डलरमा बिक्री गरिएको हो।
राष्ट्रपति ट्रम्प चार वर्षको उमेरसम्म सो घरमा बसेका थिए। उनका पिता तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा जमैका इस्टेट्स क्षेत्रमा उक्त घर निर्माण गरेका थिए।
लामो समयसम्म बेवास्ता गरिएको र जीर्ण अवस्थामा रहेको उक्त घरलाई घरजग्गा डेभलपर टमी लिनले गत वर्ष ८ लाख ३५ हजार डलरमा खरिद गरेका थिए।
द न्यूयोर्क पोस्टका अनुसार लिनले घरको भित्री भागको पुनर्निर्माणमा आठ महिना लगाएर थप ५ लाख डलर खर्च गरेका थिए।
पुनर्निर्माणपछि घरमा आधुनिक भान्सा, काठको भुइँ र स्पाजस्तै सुविधासहितका बाथरुम थपिएका छन्। पाँच शयनकक्ष र तीन बाथरुम भएको सो घरको बिक्री मूल्य शुक्रबार सार्वजनिक भएको थियो।
यसअघि सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेको केही महिनापछि सो घर २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो। त्यसपछि ‘ट्रम्प बर्थ होम एलएलसी’ नामक संस्थाले घर खरिद गरी केही समय एयरबीएनबीमार्फत भाडामा समेत उपलब्ध गराएको थियो।
सन् २०१९ मा घरको मूल्य २९ लाख डलर तोकिए पनि बिक्री हुन सकेको थिएन। अन्ततः लिनले सो घर खरिद गरी नयाँ स्वरूप दिएर बिक्री गरेका हुन्।
