काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले ठूला पूर्वाधार परियोजनामा स्वदेशी निजी क्षेत्रलाई पनि सहभागी गराउन सरकारसँग माग गरेका छन्। इन्फ्रास्ट्रक्चर समिट, २०२६ को सन्दर्भमा बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले विदेशी कम्पनीलाई मात्र परियोजना दिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका हुन्।
उनले विदेशी कम्पनीसँग संयुक्त लगानी (ज्वाइन्ट भेन्चर)मा काम गर्ने अवसर पाउँदा नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने र भविष्यमा ठूला परियोजना आफैँ निर्माण गर्न सक्ने अवस्था बन्ने धारणा राखे। उनले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै त्यहाँ भारतीय कम्पनीहरूलाई विदेशीसँग सहकार्य गराइएकाले नै अहिले उनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको उल्लेख गरे। नेपालमा पनि सुरुङ मार्ग निर्माणमा विदेशीसँगको सहकार्यले नेपाली इन्जिनियरहरूको क्षमता विकासमा सहयोग पुगेको उनको भनाइ छ।
अध्यक्ष श्रेष्ठले नेपालको व्यावसायिक प्रतिस्पर्धात्मक क्षमता बढाउन पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए। उनले भने, ‘नेपालको आर्थिक विकास र व्यावसायिक प्रतिस्पर्धात्मकता बढाउन पूर्वाधार विकास अपरिहार्य छ। भन्सार प्रक्रिया होस् वा देशको एक भूभागबाट अर्को भूभागसम्मको यात्रा, समय र लागत घटाउन आवश्यक छ।’
पूर्वाधार कमजोर हुँदा व्यवसायको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने उनले बताए। साथै, यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघले गर्दै आएको सम्मेलनलाई सरकारको समेत अग्रसरतामा अघि बढाउनु सकारात्मक कदम भएको उनले बताएका छन्।
