काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमले उपभोक्ताहरूलाई नआत्तिन र आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। मुख्य राजमार्गहरू अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा दैनिक औसत ४० हजार सिलिन्डर ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
निगमका अनुसार भदौ २८ गतेसम्म ५२ हजार ७३७ मेट्रिक टन अर्थात् ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबरको एलपी ग्यास नेपाल भित्रिसकेको छ। यसबाहेक सेप्टेम्बर १० सम्म इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी र बोटलिङ प्लान्टबाट थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोड भइसकेको छ।
पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगबाट ग्यास काठमाडौं पठाइरहेको छ। भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ र विपी राजमार्ग हुँदै करिब ३ लाख ५९ हजार ५२९ सिलिन्डर वितरण गरिएको छ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई ग्यास वितरणमा प्राथमिकता दिइएको निगमले जनाएको छ। सडक सुचारु भएपछि आपूर्ति थप सहज हुने र हाल गृह मन्त्रालयसँगको समन्वयमा ग्यास लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्ध निगरानी बढाइएको छ। अनुगमनका क्रममा लुकाएर राखिएका १ हजार २०० सिलिन्डर नियन्त्रणमा लिई उपभोक्तालाई वितरण गरिएको र दोषी बिक्रेतालाई कारबाही गरिएको छ।
निगमले ग्यास वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणालीको विकास गरिरहेको छ। गत वर्षको तुलनामा यस वर्ष ग्यासको बिक्री बढेको तथ्याङ्कले देखाएको छ। निगमका सह-प्रवक्ताले भनेका छन्, ‘आत्तिएर अतिरिक्त सिलिन्डर सञ्चय नगर्नुहोस्। तपाईंले खरिद गर्ने अतिरिक्त सिलिन्डर कुनै अर्को व्यक्तिलाई जरुरी परेको हुन सक्छ, तसर्थ आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न हार्दिक अनुरोध गर्दछौं।’
