काठमाडौं। नेपाल आयल निगमले पछिल्लो १० दिनमा काठमाडौं उपत्यकामा करिब चार लाख सिलिण्डर ग्यास वितरण गरेको छ। भदौ १८ देखि २७ गतेसम्म त्रिभुवन राजपथ र बीपी राजमार्गको प्रयोग गरी तीन लाख ९९ हजार ५२९ सिलिण्डर बजारमा पठाइएको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको कृष्णभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाएको हो।
निगमका अनुसार पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन ग्यास आयात भएको छ, जुन ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो। सेप्टेम्बर १० सम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको छ। नेपालमा मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास खपत हुने गर्दछ।
सडक अवरुद्ध रहेसम्म तराईका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। निगमले भदौ १४ देखि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमार्फत ग्यास रिफिल गराइरहेको छ। आपूर्ति सहज बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको छ। साथै, कृत्रिम अभाव सिर्जना गर्ने र सिलिण्डर लुकाउने विरुद्धको कारबाहीलाई तीव्रता दिइएको निगमले जनाएको छ। अनुगमनका क्रममा लुकाइएका एक हजार २०० सिलिण्डर बरामद गरी उपभोक्तालाई वितरण गरिएको छ।
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ग्यासको बिक्री बढेको छ। साउन र भदौ महिनामा गत वर्षको तुलनामा करिब १२ लाख बढी सिलिण्डर बिक्री भएको निगमको तथ्यांक छ। ग्यास वितरणलाई थप पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकास गर्ने प्रक्रिया अघि बढाइएको छ।
