बाँके। भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा रु ७४ करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ।
भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पूर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी रु ७४ करोड ८६ लाख २९ हजार १०८ राजस्व संकलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिए।
उनका अनुसार गत आवमा कार्यालयले सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट संकलन गरेको छ। पुँजीगत लाभकर दस्तुरबाट मात्रै रु ३७ करोड ४० लाख ९९ हजार ६०७ राजस्व सङकलन गरेको छ। त्यसैगरी, रजिष्ट्रेसन दस्तुरबाट रु ३६ करोड ९० लाख ५९ हजार १६४ राजस्व संकलन भएको छ।
उक्त कार्यालयले सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरबापत रु ५४ लाख २३ हजार ९१४ सङ्कलन गरेको कार्यालय प्रमुख विकले जानकारी दिनुभयो। त्यस्तै फारम र पूर्जा बिक्रीबापत रु १७ हजार ६००, न्यायिक दस्तुर, दण्ड, जरिवानाबाट १५ हजार ९०० र धरौटी सदर र स्यहार राजस्व शीर्षकबाट रु १२ हजार ९२३ संकलन भएको छ।
कार्यालयले गत आवमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ। जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व संकलनको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख विकको भनाइ छ।
भूमि प्रशासन कार्यालयले ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते नेपालगन्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपूर्जाको स्रेस्ता कायम गरेको छ।
कार्यालय प्रमुख विकले विभागको अनलाइन प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुनेगरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी गरे।
