मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले २० दिनको अवधिमा दुई अर्ब ५४ करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी-केरुङ नाका बन्द भएपछि सो नाकाबाट आउने मालवस्तु तथा विद्युतीय सवारीसाधन कोरला नाका हुँदै भित्रिएकाले राजस्व सङ्कलनमा वृद्धि भएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेयता कोरला नाकाबाट पाँच सय ६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारीसाधनको जाँचपास भएको छ। रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनबाट हुने आयातका लागि कोरला नाका एकमात्र वैकल्पिक मार्ग बनेको छ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा गरी कार्यालयले कुल तीन अर्ब सात करोड ९३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यसमध्ये साउन महिनामा २६ करोड ३९ लाख र भदौ महिनामा दुई अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व जम्मा भएको हो। साउन महिनामा एक सय विद्युतीय सवारीसाधन भित्रिँदा १७ करोड ३४ लाख रुपैयाँ राजस्व उठेको थियो भने भदौ महिनामा एक हजार दुई सय ५३ विद्युतीय सवारीसाधन भित्रिँदा एक अर्ब ९३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यसअघि भदौ १० गतेअघिको ४० दिनमा कार्यालयले ५३ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो। गत आर्थिक वर्ष २०८२/०८३ को १२ महिनामा मुस्ताङ भन्सारले कुल छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। उक्त अवधिमा तीन हजार दुई सय २३ विद्युतीय सवारीसाधन कोरला नाकाबाट भित्रिएका थिए।
