काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र र नदी तथा खोलानजिकका क्षेत्रमा विशेष सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेका छन्। देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै उनले सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न पनि सुझाव दिएका छन्।
मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
विभागका अनुसार मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, जुम्ला आसपास र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको उच्च जोखिम रहेको छ।
