काठमाडौं। धादिङको कृष्णभिरमा आज पुनः पहिरो खसेको छ। पृथ्वी राजमार्गअन्तर्गतको उक्त स्थानमा खसेको पहिरोले नयाँ डाइभर्सनलाई टेकोको रूपमा रहेको ग्याबिन जाली त्रिशूली नदीतर्फ तानेको छ।
सडकको तल्लो भागमा लगाइएको ग्याबिन पर्खालमा क्षति पुगे पनि मुख्य सडकको ट्र्याक हालका लागि सुरक्षित रहेको छ। यद्यपि, डाइभर्सनभन्दा माथिल्लो भागबाट लेदो खस्ने क्रम रोकिएको छैन।
पहिरोका कारण कृष्णभिरमा सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन। राजमार्गका अन्य स्थानमा पनि पहिरो खसेकाले सो क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको छ। काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरूलाई सुरक्षित स्थानमा रोकिएको छ।
