काठमाडौं। लगातारको वर्षाका कारण सुर्खेतका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको छ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेतका अनुसार सुब्बाकुना र रामघाट ३३ केभी प्रसारण लाइनमा रूख ढल्दा विद्युत् आपूर्ति अवरुद्ध भएको हो। प्राधिकरणले अहिले उक्त स्थानमा रूख हटाएर मर्मतसम्भारको काम भइरहेको जनाएको छ।
यस्तै, लम्की-बाबियाचौर ३३ केभी लाइनमा रूख ढलेर ठूलो क्षति पुगेको छ। यसले गर्दा तत्काल उक्त क्षेत्रमा सेवा सुचारु गर्न नसकिने प्राधिकरणले जानकारी दिएको छ। अहिले सुर्खेत-बाबियाचौर ३३ केभी लाइनमा देखिएको समस्या समाधान गर्ने प्रयास भइरहेको छ।
बजार फिडरको ११ केभी लाइनमा पोल ढल्ने जोखिम देखिएकाले हाल विद्युत् सेवा आंशिक रूपमा मात्र सञ्चालनमा छ। पोल मर्मतपछि सेवा पूर्ण रूपमा सुचारु हुने प्राधिकरणले जनाएको छ। त्यस्तै, सीतापाइला फिडरमा देखिएको प्राविधिक समस्याको पहिचान गर्ने काम भइरहेको छ।
प्राधिकरणका अनुसार अन्य विभिन्न स्थानमा पनि ११ केभी तथा एलटी लाइनका पोल ढलेका कारण विद्युत् अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा क्रमशः मर्मत गरी विद्युत् सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।
