काठमाडौँ। पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु. २७ करोड ८५ लाख बराबरको राजस्व छलिका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरीले उक्त परिमाणको किराना सामान, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक्स, हार्डवेयर, मोटरपाट्र्स तथा शृङ्गारका सामग्रीलगायत सामान बरामद गरेको हो ।
ती सामान ओसारपसारमा संलग्न १० करोड २२ लाखभन्दा बढी मूल्यको सवारीसाधनसमेत नियन्त्रणमा लिइ भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
साम्प्रादयिक प्रदर्शन, बलात्कार घटना, सीमापार अपराध, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रणलगायतका कामकारबाहीमा सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकाय तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको उनले जानकारी दिए ।
सीमा चिन्हहरूको डिजिटल रेकर्ड तथा भौतिक अवस्थाको अद्यावधिक गर्नुका साथै समकक्षी भारतीय सुरक्षा निकायसँग समन्वय गरी सीमा पिलरको मर्मतसम्भारमा सशस्त्र प्रहरी खटिँदै आएको छ ।
दशगजा क्षेत्रको सुरक्षा, सीमा अतिक्रम रोक, अतिक्रमिक क्षेत्र खाली गराउने कार्यमा समकक्षीहरूसँग निरन्तर समन्वय भइरहेको छ ।
