काठमाडौं। दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढेको छ। हाल सडकको ड्रेन निर्माण र सबबेस राख्ने काम अन्तिम चरणमा पुगेको छ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजनामार्फत सञ्चालित यस सडकको कुल लागत ४४ करोड ८७ लाख रुपैयाँ रहेको छ। १५.५८ किलोमिटर लामो यो सडक बिजौरी-बसदबारा-जमुनी-लक्ष्मीपुर-दक्षिण कुररिया-कञ्जवार हुँदै कोठरीसम्म जोडिनेछ।
निर्माण कम्पनी एमसी-एएनएस बिजी जेभीका प्रतिनिधि सिलन बरालका अनुसार सडक कालोपत्रे गर्ने काम छिट्टै सुरु हुनेछ। निर्माण कार्यलाई तीव्रता दिन तुलसीपुर उपमहानगरपालिकामा सूचीकृत व्यवसायी, निर्माण सामग्री आपूर्तिकर्ता र रेन्टल सेवा प्रदायकसँग सहकार्य गरिएको छ। स्थानीयस्तरमै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिएकाले काममा सहजता आएको कम्पनीले जनाएको छ।
यो सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिनेछ। यसका लागि आवश्यक अस्फाल्ट प्लान्टलगायतका उपकरणहरू जडान भइसकेका छन्। निर्माण कम्पनीका अनुसार दसैँअघि बेस र सबबेसको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। साथै, आगामी चैत महिनाभित्रै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ। निर्माणको क्रममा गुणस्तरलाई विशेष प्राथमिकता दिइएको कम्पनीले जानकारी दिएको छ।
