काठमाडौं। नेपालीहरूको महान चाडपर्वको समयमा बजारमा घिउ र नौनीको अभाव देखिएको छ। पछिल्लो समय दूधको उत्पादनमा आएको गिरावटसँगै घिउको उत्पादनमा पनि कमी आएपछि बजारमा अभाव सिर्जना भएको हो।
दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगहरूसँग घिउको मौज्दात नरहेको जनाइएको छ। डिडिसीसँग ५० टन बटर मौज्दात रहे पनि निजी डेरीहरूमा भने घिउको मौज्दात रित्तिएको छ। राष्ट्रिय डेरी एसोसिएसन नेपालका अध्यक्ष प्रह्लाद दाहालका अनुसार चाडपर्वका बेला घिउको माग अत्यधिक बढेकाले बजारमा अभाव देखिएको हो। दाहालले भन्नुभयो, “विगतका वर्षमा घिउको खपत धेरै नबढ्दा अभाव हुने गरेको थिएन, अहिले बजारमा माग बढेकाले पनि अभाव देखिएको हो।”
तिज, सोह्रश्राद्ध र दसैँ-तिहारको समयमा घिउको खपत बढ्ने तर यही सिजनमा दूधको उत्पादन घट्ने हुँदा उत्पादनमा प्रत्यक्ष असर परेको छ। डिडिसीले औसतमा वार्षिक आठ लाख केजी नौनी उत्पादन गर्दै आएकोमा अहिले यो मात्रा दुई तिहाइले घटेको छ। एसोसिएसनका अनुसार हाल देशभर दैनिक ३२ लाख लिटर दूध सङ्कलन भइरहेको छ भने दैनिक ३२ हजार लिटर घिउ उत्पादन भइरहेको छ।
बजारमा घिउको मूल्य प्रतिकेजी एक हजार तीन सय रुपियाँ र नौनीको मूल्य नौ सय रुपियाँ कायम छ। डिडिसीले भने प्रतिकेजी एक हजार दुई सय ५० रुपियाँमा घिउ बिक्री गर्दै आएको छ। केही वर्षअघिसम्म विदेशबाट घिउ आयात हुने गरेकोमा अहिले त्यो रोकिएको छ। डिडिसीले साउनको अन्तिममा चार सय २० केजी घिउ निर्यात गरेको थियो, जबकि खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिक टन घिउ निर्यात गर्ने सम्झौता रहेको छ। निजी डेरी उद्योगहरूले पनि वार्षिक चार हजारदेखि पाँच हजार केजी घिउ निर्यात गर्दै आएका छन्।
