कास्की। मौसममा सुधार र सडक सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। निरन्तरको वर्षा रोकिएपछि र मनाङ तथा मनास्लु क्षेत्रका पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको रोजाइ एबिसीतर्फ मोडिएको छ।
छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक ३०० हाराहारीमा पर्यटक आधार शिविर पुगिरहेका छन्। एबिसी क्षेत्रमा रहेका ६ वटा होटल तथा लजको ३५० जना राख्न सक्ने क्षमता छ। गुरुङले अहिले स्वदेशी पर्यटकको सङ्ख्या कम भए पनि विदेशी तथा सार्क राष्ट्रका पर्यटकको आगमन बढेको जानकारी दिए।
यसअघि बाढीपहिरोका कारण अन्नपूर्ण क्षेत्रको सडक र पदयात्रा मार्ग अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित बनेको थियो। बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानले अवरुद्ध सडक असोज पहिलो सातादेखि सञ्चालनमा आएको छ। अन्नपूर्ण-११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पोखरा-घान्द्रुक-एबिसीसम्मको सडक खण्ड खुला रहेको र पदमार्गमा समेत अस्थायी प्रबन्ध मिलाइएको बताए। किम्रुङखोलामा पुल बगेपछि काठे फड्के निर्माण गरेर पदमार्ग सञ्चालनमा ल्याइएको छ।
समुद्री सतहबाट ४,१३० मिटर उचाइमा रहेको एबिसी पदयात्रा माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथम हिमालको दृश्यावलोकनका लागि चर्चित छ। यस क्षेत्रमा पर्यटकको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँपालिकाले माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र पनि सञ्चालनमा ल्याएको छ। लेक लाग्ने वा उच्च उचाइका कारण हुने स्वास्थ्य समस्यामा यो केन्द्रले पर्यटकलाई राहत दिने अपेक्षा गरिएको छ।
