काठमाडौं: एनएमबी बैंक लिमिटेडले नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा र्यापिड टेक प्रालिसँग डिजिटल बैंकिङ सेवा विस्तार गर्ने विषयमा सहकार्य गरेको छ। व्यावसायिक संस्थाहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सिधै बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको हो।
यस सहकार्यपछि एनएमबी बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले आफ्नो बैंकिङ प्रणालीभित्रै रहेर रकम भुक्तानी, हिसाब मिलान र अन्य बैंकिङ कारोबारहरू तुरुन्तै गर्न सक्नेछन्। त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि विभिन्न डिजिटल प्लेटफर्महरू र व्यापारिक केन्द्रहरूमा छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार निकट भविष्यमा सञ्चालनमा आउने यो सुविधाले ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई थप सरल र झन्झटमुक्त बनाउन मद्दत पुर्याउनेछ। एनएमबी बैंकले हाल देशभर १ सय ९७ शाखाहरू, १ सय ७६ एटीएमहरू र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ।
