काठमाडौं। अमेरिकाको प्रमुख वित्तीय संस्था बैंक अफ अमेरिकालाई सम्पत्ति शुद्धीकरण रोक्न नसकेको र पर्याप्त आन्तरिक नियन्त्रण प्रणाली कायम नगरेको अभियोगमा १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना तोकिएको छ। अमेरिकी अर्थ मन्त्रालयले मङ्गलबार यस कारबाहीबारे जानकारी गराएको हो।
बैंकले ५ अर्ब डलरभन्दा बढीका शङ्कास्पद कारोबारहरूबारे सरकारलाई समयमै प्रतिवेदन बुझाउन नसकेको पाइएको छ। तीमध्ये करिब १ अर्ब डलर बराबरका कारोबारहरू राष्ट्रिय सुरक्षा र अवैध वित्तीय गतिविधिहरूसँग जोडिएका अति संवेदनशील प्रकृतिका रहेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार बैंकले चिनियाँ सम्पत्ति शुद्धीकरण सञ्जाल र दक्षिण-पश्चिम सीमा क्षेत्रसँग जोडिएका व्यापारमा आधारित मनी लाउन्डरिङका शङ्कास्पद कारोबारहरूलाई निगरानी गर्न चुकेको थियो।
बैंक अफ अमेरिकाले आफ्नै बलियो आन्तरिक प्रणाली निर्माण गर्नुको साटो प्रहरी र अन्य अनुसन्धान एजेन्सीहरूको सोधपुछमा बढी भर परेको मन्त्रालयले जनाएको छ। बैंकले आफ्ना शङ्कास्पद कारोबार पहिचान र प्रतिवेदनसम्बन्धी कानुनी दायित्व तेस्रो पक्षलाई सुम्पेको जस्तो देखिएको थियो। बैंकले विदेशी पत्राचार खाताहरूमा आवश्यक निगरानी नपुर्याएको र ‘बैंक सेक्रेसी एक्ट’ को जानीजानी उल्लङ्घन गरेको स्वीकार गरेको छ।
जरिवाना रकममा मुद्रा नियन्त्रकको कार्यालय (ओसीसी) र विदेशी सम्पत्ति नियन्त्रण कार्यालय (ओफ्याक) द्वारा तोकिएका जरिवानाहरू समावेश छन्।
ओसीसीले तोकेको ७५ करोड डलरको जरिवाना उक्त निकायको इतिहासकै सबैभन्दा ठूलो हो। ओफ्याकले रुस, इरान, लागुऔषध र अन्तर्राष्ट्रिय आतङ्कवादसँग सम्बन्धित प्रतिबन्ध कार्यक्रमहरूको ४७५ वटा उल्लङ्घनसँग बैंकको सम्झौता जोडिएको जनाएको छ।
यी उल्लङ्घनहरूका लागि १ करोड १६ लाख डलरमा सम्झौता गरिएको हो। यो घोषणा बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनुभन्दा २४ घण्टाअघि आएको छ।
