काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग सम्झौता गर्दै लुप नेटवर्कमा आबद्ध भएको छ।
यस सहकार्यसँगै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको हो।
यस सम्झौतापछि बैंकका योग्य डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले लुप नेटवर्कमा आबद्ध विभिन्न व्यावसायिक प्रतिष्ठानहरूबाट सामान खरिद गर्दा इन्स्ट्यान्ट पर्चेज क्रेडिट सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले कार्डमार्फत गरिएको भुक्तानीलाई मासिक किस्ताबन्दी अर्थात् लुप ईएमआईमा रूपान्तरण गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस सुविधाले ग्राहकहरूलाई खर्च व्यवस्थापन गर्न र सरल भुक्तानीको अनुभव लिन मद्दत पुर्याउनेछ।
बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। साथै, बैंकले हालसालै युवा लक्षित बचत खाता र एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ।
यसबाहेक फ्रिलान्सरहरूका लागि विशेष बचत खाता र मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन दिन सकिने सुविधा पनि बैंकले प्रदान गर्दै आएको छ।
सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा फैलिएका २ सय शाखा, १६७ एटिएम र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

