काठमाडौं। सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा खानी तथा सिमेन्ट उद्योगबाट एक करोड ४७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा सिमेन्ट उद्योगबाट ३० लाख १८ हजार रुपैयाँ स्थानीय विकास शुल्कबापत प्राप्त भएको छ।
त्यसैगरी खानी तथा खनिजजन्य पदार्थको रोयल्टीबाट नगरपालिकाले एक करोड १७ लाख ६५ हजार १६० रुपैयाँ आम्दानी गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालका अनुसार यी दुवै शीर्षकमा प्राप्त रकम फरक-फरक हुन्।
नगरपालिकाको आम्दानीको स्रोत र विवरणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी भएपछि स्थानीय प्रशासनले आधिकारिक स्पष्टीकरण जारी गरेको हो।
नगरपालिकाले सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानीजन्य रोयल्टीलाई एउटै शीर्षकमा नराख्न र फरक आम्दानीका रूपमा बुझ्न आग्रह गरेको छ।

