काठमाडौं: दसैँका लागि आवश्यक पर्ने सामग्री भित्र्याउन तातोपानी नाका तीन दिनका लागि खुला गरिएको छ। नाका खुलेलगत्तै चीनको स्वशासित क्षेत्र सिचाङबाट मालवाहक सवारीसाधन नेपाल भित्रिन थालेका छन्।
तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान र अन्य अत्यावश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका सञ्चालनमा ल्याएको हो।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार लिपिङ र कोदारी क्षेत्रमा कन्टेनरको लाम लागेको छ। सिचाङको न्यालममा ४५ भन्दा बढी कन्टेनर नेपाल प्रवेश गर्ने प्रतीक्षामा रहेका छन्। चीनले गत भदौ १५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि उक्त नाका पूर्ण रूपमा बन्द गरेको थियो।

