काठमाडौं: हिमाली जिल्ला मुस्ताङका किसानहरू यतिबेला रैथाने बाली फापर भित्र्याउन व्यस्त छन्। असार महिनामा छरिएको फापर बाली असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातासम्म पाक्ने गर्दछ। समुद्री सतहबाट २ हजारदेखि ५ हजार मिटरसम्मको उचाइमा खेती गरिने फापर मुस्ताङको प्रमुख रैथाने बालीमध्ये एक हो।
घरपझोङ गाउँपालिका-५, ठिनी गाउँकी किसान सविता थकालीका अनुसार मंसिरमा लगाइएको उवा र जौ थन्क्याएपछि किसानहरू फापर छर्न सुरु गर्छन्। खेतबारीमा छरेको फापर करिब १०० दिनमा पाक्ने गर्दछ। जिल्लाका पाँचवटै स्थानीय तहमा व्यावसायिक तथा घरायसी प्रयोजनका लागि फापर खेती हुँदै आएको छ। थासाङ-१, टुकुचेदेखि लोमान्थाङका सीमावर्ती गाउँसम्मका किसानहरूले फापर उत्पादन गर्छन्।
स्थानीय किसान अमित थकालीले स्याउ बगैँचाको खाली जग्गामा पनि फापर खेती गर्ने गरिएको बताए। उनका अनुसार, पछिल्लो समय सडक सञ्जालको विस्तारले कृषि उपजको बजारीकरणमा सहजता थपेको छ। किसानहरूले घरायसी उपभोगका लागि आवश्यक मात्रा राखेर बाँकी फापर बिक्री गर्ने गरेका छन्।
फापरको पिठोबाट ढिँडो र रोटीजस्ता परिकार बनाइन्छ। पछिल्लो समय मुस्ताङ भ्रमणमा आउने पर्यटकहरूका लागि फापरको परिकार मुख्य आकर्षण बन्दै गएको छ। स्थानीय चाडपर्वमा समेत फापरको प्रयोगलाई प्राथमिकता दिइन्छ। हिमाली क्षेत्रको यो रैथाने बाली अहिले सहरका होटल तथा भान्छामा पनि लोकप्रिय बन्दै गएको छ।

