काठमाडौं। कतारमा आधारित पिजन इन्जिनियरिङले आफ्नो सेवाको २२ वर्ष पूरा गरेको छ। सन् २००४ मा स्थापना भएको यस कम्पनीले आठ देशका ३ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार शर्माले वार्षिकोत्सवका अवसरमा एक विज्ञप्ति जारी गर्दै कतार सरकार, ग्राहक, साझेदार र कर्मचारीप्रति आभार व्यक्त गरेका छन्।
उनले कम्पनीको यात्रामा योगदान पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन्। पिजन इन्जिनियरिङले पूर्वाधार, ऊर्जा, आतिथ्य सेवा र खेलकुदसँग सम्बन्धित विभिन्न परियोजनामा काम गर्दै आएको छ।
शर्माले कम्पनीको सफलतामा कर्मचारीको योगदानलाई विशेष महत्त्व दिएका छन्। उनले कर्मचारीको जीवनस्तर सुधार र उनीहरूका छोराछोरीको शिक्षामा कम्पनीले पुर्याएको सहयोगप्रति गर्व व्यक्त गरेका छन्।
कम्पनीले कर्मचारीको सीप अभिवृद्धि र करियर विकासलाई प्राथमिकतामा राख्दै भविष्यमा अझ ठूला अवसरका लागि तयार पार्ने लक्ष्य लिएको छ।
२२ वर्ष पूरा भएको अवसरमा कम्पनीले आफ्नो नयाँ र परिमार्जित ब्रान्ड पहिचानसमेत सार्वजनिक गरेको छ। शर्माका अनुसार दृश्य पहिचानमा परिवर्तन भए पनि कम्पनीका मूल्यमान्यता यथावत् रहनेछन्।
‘मानिसलाई सशक्त बनाउने, उत्कृष्ट सेवा प्रदान गर्ने’ प्रतिबद्धतालाई निरन्तरता दिने कम्पनीले जनाएको छ। पिजन इन्जिनियरिङ प्रोजेक्ट्स, ट्रेडिङ एन्ड जनरल सर्भिसेज डब्लूएलएलले ‘कतारमै जन्मिएको र हुर्किएको, विश्वास र उत्कृष्टताका २२ वर्ष’ भन्ने सन्देशका साथ आफ्नो वार्षिकोत्सव मनाएको हो।

