काठमाडौं। इरानबाट हुने आपूर्ति ठप्प भएपछि पाकिस्तानमा खाना पकाउने एलपीजी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ।
१२ किलोको एक सिलिन्डर ग्यासको मूल्य केही दिनमै ४ हजार ५०० पाकिस्तानी रुपैयाँबाट बढेर ७ हजार रुपैयाँ पुगेको छ।
पाकिस्तान र इरानबीचका दुई मुख्य सीमा नाका अक्टोबर १७ देखि बन्द छन्। पाकिस्तानले सुरक्षा र तस्करी नियन्त्रणलाई कारण देखाएको छ भने इरानले प्राविधिक समस्या औंल्याएको छ।
पाकिस्तानले आफ्नो कुल एलपीजी आवश्यकताको करिब ५० प्रतिशत इरानबाट आयात गर्दै आएको छ। देशको कुल ग्यास आवश्यकताको ७० प्रतिशत आयातमा निर्भर रहेकाले आपूर्ति अवरुद्ध हुँदा बजारमा अभाव र मूल्यवृद्धि देखिएको हो। हर्मुज जलडमरुमा जारी तनावका कारण इराक र ओमानबाट हुने आयात पनि प्रभावित भएको छ।
तेल तथा ग्यास नियामक प्राधिकरणले ११.८ किलोको सिलिन्डरको मूल्य ३ हजार २९६ रुपैयाँ तोकेको भए पनि बजारमा त्योभन्दा निकै महँगोमा बिक्री भइरहेको छ। एलपीजी एसोसिएसनका अध्यक्ष इरफान खोखरका अनुसार बलुचिस्तानमा ७ हजार, लाहोरमा ७ हजार ५०० र स्कर्दुमा ८ हजार २०० रुपैयाँसम्ममा सिलिन्डर बिक्री भइरहेको छ।
पेट्रोलियममन्त्री अली परवेज मलिकले सरकारले आफैं एलपीजी आयात गरी बजारमा उपलब्ध गराउने योजना रहेको बताएका छन्।
उनले आगामी दुईदेखि तीन दिनभित्र मूल्यमा सुधार आउने अपेक्षा व्यक्त गर्दै बढी मूल्य लिने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उनले ग्यासको मूल्य प्रतिकिलो ४०० देखि ४२५ रुपैयाँको सीमाभित्र हुनुपर्ने बताएका छन्।
सीमा बन्द हुँदा एलपीजी ट्यांकरसहित सयौं ट्रक दुवैतर्फ रोकिएका छन्। यसका साथै पाकिस्तानबाट इरान निर्यात हुने आलु, केरा र चामल बोकेका एक हजारभन्दा बढी कन्टेनर पनि सीमामा अड्किएका छन्।

