काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको बेनी-दरबाङ सडक खण्डमा पर्ने फापरखेत पहिरोको समस्या समाधान सङ्घीय सरकारको प्राथमिकतामा रहेको बताए।
शनिबार पहिरोस्थलको निरीक्षण गर्दै मन्त्री पुनले आगामी बर्खाअघि नै पहिरो नियन्त्रण तथा वैकल्पिक सडक र पुल निर्माणको काम सम्पन्न गर्ने गरी तयारी भइरहेको जानकारी दिए।
फापरखेत पहिरो विगत २६ वर्षदेखि पश्चिम म्याग्दीको यातायात अवरोधको प्रमुख कारण बन्दै आएको छ। मन्त्री पुनले भने, ‘बेनी-दरबाङ सडक नियमित रुपमा सञ्चालनका लागि मुख्य चुनौती बनेको यो पहिरो नियन्त्रण गरी सहज रुपमा यातायात सञ्चालन गर्नुपर्दछ।
पहिरोका कारण पश्चिम भेगका स्थानीयहरुले धेरै सास्ती भोग्नुपरेको छ। आशा गरौं आगामी बर्खाअघि नै पहिरो नियन्त्रण गर्नेगरी काम चाँडो सुरु हुन्छ।’
वर्षायाममा मात्र खस्ने गरेको सो पहिरो अहिले हिउँदको समयमा पनि सुख्खा पहिरोका रुपमा खस्न थालेपछि सडक पटक-पटक अवरुद्ध हुँदै आएको छ।
शुक्रबार बिहान पहिरो पन्छाएर सुचारु गरिएको सडक साँझ पुनः अवरुद्ध भएको थियो। शनिबार बिहान मन्त्री पुनसहितको प्राविधिक टोलीले पहिरोस्थलको अनुगमन गर्दै पन्छाउने काम सुरु गरेको छ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि ४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यसका साथै गण्डकी प्रदेश सरकारले वैकल्पिक सडक र पक्की पुल निर्माणको योजना अघि बढाएको छ।
यो पहिरोका कारण मंगला, मालिका र धवलागिरि गाउँपालिकाका स्थानीय बासिन्दा वर्षौंदेखि प्रभावित हुँदै आएका छन्।

